‘ट्रयाक’ नछाडे रास्वपाको बलियो उदयमा छैन शंका, रवि लामिछाने कोसँग डराए?

सोमबार, कात्तिक १३, २०८०

काठमाडौं विभिन्न सम्मेलन र सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अन्य दल र नेतालाई तिखो प्रहार गरे पनि नेपाली कांग्रेसको चियापान कार्यक्रममा भनेका थिए,‘हामी आफैंसँग प्रतिस्पर्धामा छौं, कतै आफैंमा बल्झिएर लडिन्छ कि भन्ने डर छ।

मास बेस पार्टी र अमेरिकी इन्डिपेन्डेट पार्टीको मोडलमा उदय गरेको रास्वपाले प्रतिनिधि सभाको निर्वाचन र उपनिर्वाचनमा ल्याएको जितले नयाँ आयाम नदेखाएको होइन। तर, परम्परागत राजनीतिक दल र तिनले तल्लो तहसम्म पारेको प्रभाव चिर्नका लागि भने रास्वपाले निक्कै मिहेनत गर्नुपर्ने देखिन्छ।

बहुमत पार्टी कम्युनिस्ट विचारधाराको रहेका कारण तिनको थोरै मात्र मतलाई आफूतिर ढल्काउन सफल हुने रास्वपाले ज्यादा मत नेपाली कांग्रेसको क्षति गर्न सक्ने प्रक्षेपण भइसकेको छ। तर, गत निर्वाचनमा आएको मतलाई निराशाको अभिमतका रुपमा व्याख्या हुने गरेको छ।

कम्युनिस्ट पार्टीको मत काट्न रास्वपालाई निक्कै मिहनेत गर्नुपर्ने देखिन्छ। यो एउटा साक्षर पार्टी हो र साक्षरता कम भएको ठाउँमा उसले संगठन बलियो नबनाई मत चोर्ने वा खोस्ने सम्भावना कम रहन्छ, एक विश्लेषक भन्छन्,‘तर साक्षर भएको ठाउँमा उसको अभिमत बलियो हुने देखिन्छ।

त्यसो त गत निर्वाचनमा पनि रास्वपाले काठमाडौं, चितवन, धरान, इटहरी, विराटनगर, धनगडीलगायतका ठाउँमा समानुपातिकमा मत पाएको थियो भने उपनिर्वाचनमा तनहुँ१ मा एक सीट थप्न सफल भएको थियो।

त्यो सहरीया र रवि लामिछानेको प्रभाव रहेको क्षेत्रमा तान्न सकेको मत थियो, मधेसमा रास्वपाको उपस्थिति बलियो हुने देखिएन। बारामा रमेश खरेलको पराजय उदाहरण मात्र होइन, समानुपातिक मतको गणितले पनि त्यहि देखाउँछ, ति विश्लेषक भन्छन्।

७० बर्षदेखि राजनीतिमा जरा गाडेको र गाउँको सानो इकाईसम्म पनि संगठनात्मक संरचना गर्नका लागि सफल भएको कांग्रेस, एमाले र माओवादीको मत आफूतिर तान्न रास्वपाको संगठन बलियो नै बन्नुपर्ने देखिन्छ।

९ लाख एमाले संगठित मत, १० लाख कांग्रेसको सोधान्तर मत र ५ लाख कम्तिमा माओवादीको संगठित मतका सामु रास्वपाले आफूलाई उभ्याउने कसी खोजिरहेको छ।

सांगठनिक संरचना बलियो बनाउँदै आक्रामक चुनावी प्रचार गरे पनि खस्ने मतले रास्वपालाई एकल बहुमत आउनेमा शंका कायम छ। रास्वपा आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सत्तामा पुग्ने होडमा छ। यद्यपि, त्यस्तो सम्भावना कम रहेको विविध निर्वाचनका अभ्यासले देखाएको छ।

०६४ सालको अन्त्यमा भएको संविधान सभा निर्वाचनमा बन्दुक र युद्धको रापतापमा आएको माओवादीले पनि समानुपातिक निर्वाचन प्रणालीका कारण एकल बहुमत ल्याउन पाएन। भलै, ६०१ सदस्य रहेको संविधानसभामा प्रत्यक्षतर्फ एक मत नपुग्दा बहुमत ल्याउन पाएको थिएन।

तर, ०७० मा नै उसको जनमत झन्डै ६० प्रतिशतले खुम्चियो र तेस्रो पार्टीमा सीमित हुन पुग्यो।

त्यसबेला शान्ति, अमनचयन र कांग्रेस, एमालेसँगको रोषको मत माओवादीले पाएको थियो। यसबेला सबैसँगको रुष्ट मत रास्वपाले पाएको छ। अब अझ बलियो बनाउनका लागि गल्ती गर्न हुन्न, उच्च स्रोतले भन्यो,‘वैदेशिक शक्तिले पनि उक्त पार्टीलाई महत्वका साथ हेर्न आवश्यक छ, अहिलेसम्म देखिएको छैन।

यद्यपि, रास्वपाले अहिले पाएको मत जोगाएर संगठन सुधार र उम्मेदवार छनौटमा ध्यान दिएको खण्डमा आगामी निर्वाचनमा ठूला दललाई धक्का दिन सक्ने स्थिति रहने विश्लेषण गरिएको छ। अहिले प्रतिनिधि सभामा चौथो शक्तिका रुपमा रहेको उसले आगामी निर्वाचनमा तेस्रो शक्ति बन्ने मौका भने पाउन सक्ने सम्भावना केलाइएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्