गैरीगाउँ हत्या प्रकरण

टाउकोबिनाको त्यो लासः ‘साइको किलर’ भण्डारीले गरेको दाबी कत्तिको सही?

बिहीबार, असोज २५, २०८०

काठमाडौंगैरीगाउँस्थित दिव्य सःमिलमा गएको २९ भदौको राती चार जनाको हत्या गरेको स्वीकार्ने सिन्धुपाल्चोक बाह्रबिसे९ का २३ बर्षिय सञ्जय भण्डारीले प्रहरीसमक्ष दाबी गरेका दुई लासको विषयमा थप अनुसन्धान जारी राखिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार बुधबार सर्वस्वसहित जन्मकैदको मागदाबी गरी भण्डारीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भए पनि उनले बयानका क्रममा दाबी गरेका अन्य हत्याका विषयमा खोजीनीति जारी राखिएको छ।

कोरोना महामारीविरुद्ध सरकारले २०७७ सालमा लकडाउन घोषणा गरेको पहिलो साता गठ्ठाघर र बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला किनारमा टाउको विनाको लास भेटिएको थियो।

त्यसबेला शवमा खुट्टा र हातको पञ्जा पनि काटिएको थियो भने हुलिया नखुल्दा अनुसन्धान अलपत्र परेको थियो। आसपास सीसी टीभी क्यामरा पनि नहुँदा अनुसन्धान अघि बढ्न सकेको थिएन। हाल उपत्यका प्रहरी कार्यालय प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापा त्यसबेला उपत्यका अपराध अनुसन्धान महाशाखा प्रमुख थिए।

त्योबेला अनेक हिसाबले अनुसन्धान कायम राखिएको थियो, अहिले भण्डारीको दाबीले फेरि त्यसबारेमा अनुसन्धान जारी राखिनेछ। भण्डारीको दाबी सही हो या गलत हो भन्नेमा अन्यौलता चिरिनेछ, उच्च स्रोतले भन्यो।

बौद्धमा पनि आफूले एउटा शव टुक्राटुक्रा पारेर फ्यालिदिएको भण्डारीको दाबी थियो। बौद्धको टाउन प्लानिङमा २५ जेठ २०७८ मा एउटा बोराभित्र मानिसको खुट्टा भेटिएको थियो।

त्यसमा पनि भण्डारीको दाबी छ। त्यसबारेमा पनि अनुसन्धान जारी राखिएको प्रहरी स्रोतले जनाएको छ।

सञ्जय भण्डारी फरक क्षमताका भए पनि अधिकतम चलाख हत्या अभियुक्त रहेको प्रहरीको ठहर छ। मुद्दा दर्ता भए पनि भण्डारीका दाबीमाथिको अनुसन्धानमा प्रहरी सक्रिय छ।

काठमाडौं महानगरपालिका३२ तीनकुने नजिक गैरीगाउँस्थित दिव्य समिलमा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो। भण्डारी त्यसैका अभियुक्त हुन्।

उनका अन्य दाबी कत्तिका सही या गलत छन् भन्ने विषयमा निचोडमा पुग्न प्रहरीलाई किन पनि आवश्यक छ भने ति दुई लासको विषयमा अहिलेसम्म अनुसन्धान टुंगो लागिसकेको छैन।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्