भारतको कर्नाटकमा आगलागी : १४ जनाको मृत्यु, कैयौँ घाइते

आइतबार, असोज २१, २०८०

नयाँदिल्ली– भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । 

कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ । 

पसल मालिक तथा जग्गा मालिकलाई अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ । 

“प्रारम्भिक अनुसन्धानमा घटनापछि प्रहरी हिरासतमा रहेका पसल मालिकको लापरबाहीका कारण उक्त दुःखद् दुर्घटना भएको देखिन्छ”, मुख्यमन्त्री सिद्धारमैहाले पत्रकार सम्मेलनमा बताए ।

उनले दुर्घटनास्थलको भ्रमणपछि सञ्चारकर्मीसँग भने, “वास्तवमा के भएको थियो हामीलाई थाहा छैन, तथापि, हामीलाई पसलमा आवश्यक कुनै सुरक्षा मापदण्ड अपनाइएको थिएन भन्ने जानकारी मिलेको छ । पसलको हालसालै अनुमतिपत्र नवीकरण गरिएको छ । पसलमा आगो निभाउने यन्त्र फेला परेको छैन । यो पसल मालिकको पूर्ण लापरबाही हो ।” 

घटनाको अनुसन्धान गर्न सीआईडीलाई आग्रह गरिएको पनि उनले जानकारी गराए । मृतकमध्ये केहीको सनाखत हुन बाँकी रहेको पनि उनले बताए ।  

“घटनामा १४ जनाको मृत्यु भएको छ र ती सबै तमिलनाडूका हुन्, तीमध्ये अधिकांश विद्यार्थी छन् । उनीहरू आफ्नो शिक्षाका लागि पैसा कमाउन यहाँ काम गरिरहेका थिए्,” मुख्यमन्त्री सिद्धारमैहाले भने । 

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले पनि आइतबार घटनास्थलको निरीक्षण गरेका छन् । मृतकका आफन्तजनलाई राहतस्वरूप जनही पाँच लाख भारतीय रुपैयाँ दिने राज्य सरकारले यसपहिले नै घोषणा गरेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्