यता राजनीतिक बिग्रहको नयाँ मोड, उता प्रधानसेनापति शर्माको विदेशतिर दौड

आइतबार, असोज २१, २०८०

काठमाडौंधरान, नेपालगञ्ज, मलंगवालगायतका ठाउँमा देखिएको धार्मिक बिग्रहसँगै स्थितिलाई काबुमा ल्याउन नेपाली सेना परिचालनसम्मका छलफल भए। नेपालगञ्जमा त सेनालाई उतारियो।

यसले नेपालमा भइरहेको राजनीतिक बिग्रहको संकेत गरिसकेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्ति पार्टीको गठबन्धन सरकार असफलको दिशातिर धकेलिरहेका बेलामा अनेक खाले प्रक्षेपण र अनुमान भइरहेका छन्।

यहि मेसोमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउन विभिन्न कार्यक्रमका दौरान भ्रमणमा सक्रिय रहेका छन्। उनी हालै मात्र भारतको भ्रमण गरी फिर्ता भएर बेलायत जान लागेका छन्।

यता राजनीतिक विग्रह भइरहेका बेला उनको कुटनीतिक भ्रमणलाई अनेक अर्थमा टिप्पणी गरिन थालिएको छ।

इन्डो प्यासिफिक अन्तर्गतको सैन्य सहकार्य र तालिमका विषयमा भारतमा रहेर फर्किएका शर्मा लगत्तै बेलायतको भ्रमणमा निस्किने भएका छन्। यसलाई सैनिक कुटनीतिमा प्रधानसेनापति शर्माको सक्रियताका रुपमा पनि व्याख्या गरिएको छ।

सैन्यसम्बन्धी एक उच्च तहका जानकार भन्छन्,‘मित्रवत भ्रमण भनेर व्याख्या भएका छन्। यसभन्दा बाहेक सहकार्य र नेपाली सेनालाई कुटनीतिक रुपमा सहयोग र समर्थनका निम्ति पनि कुराकानी हुने नै छन्।

बिग्रँदो राजनीतिक अवस्थालाई नेपाली सेनाले नजिकबाट नियाँलिरहेको छ? कतिपय आन्तरिक कार्यक्रममा प्रधानसेनापति शर्माले स्थिति खराब हुन नदिनका लागि सेना चनाखो हुनुपर्ने बताउँदै पनि आइरहेका छन्।

संघीयता, गणतन्त्र खतरामा परेका बेला नेपालमा पनि सैनिक साशनले जन्म लिन सक्ने त पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका नै थिए। वीपीको विद्रोह नामको पुस्तक विमोचनका क्रममा उनले यस्तो सम्भावना औंल्याएका थिए।

ठ्याक्कै अहिले धार्मिक हिंसा, संघीयतामा प्रदेशको औचित्य समाप्त भइसकेको सन्देश आइरहेका बेला केन्द्रीय सत्ता पनि धरमरको स्थितिमा छ।

एक उच्च स्रोतले भन्यो,‘यस्तो स्थिति अझ खराब हुने अवस्था आयो भने दलहरु असफल भएको पुष्टि हुन्छ, त्यसपछिको परिस्थिति भनेको अझ जटिल हुनेछ।

त्यसो त स्वतन्त्र सांसद अमरेशकुमार सिंहले खुलेआम २०८४ को आवधिक निर्वाचन हुन नसक्ने दाबी गरेका छन्। अहिलेको स्थितिले त्यो निर्वाचनसम्म यो संसद पुग्न नसक्ने दाबी गरेका हुन्। यसको संकेत पनि फरकचाहिँ छैन।

त्यसो त गणतन्त्र घोषणापछि प्रधानमन्त्री बन्दै पुष्पकमल दाहाल प्रचण्डले नेपाली सेनामा हस्तक्षेप गर्न खोज्दा झन्डै अवस्था फरक बनिसकेको थियो। तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउन खोज्दा स्थिति अर्कै बनिसकेको थियो। तर, तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले उल्ट्याएका कारण तत्कालका लागि एउटा खतरा टरेको थियो।

तर, अहिले त राजनीति नै धुमिल स्थितिमा पुगेका बेला अनेक खाले आँकलन स्वभाविक जस्ता देखिन थालेका छन्।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्