सुदूरपश्चिम प्रदेशसभा

सुदूरपश्चिम प्रदेशसभा : भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन माग

बुधबार, असोज १७, २०८०

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  

आज बसेको प्रदेशसभा बैठकको शून्य समयमो प्रदेशसभाका अधिकांश सदस्यले भूकम्पमा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार व्यवस्थापनका साथै प्रभावितको पुनःस्थापनमा ध्यान दिन माग गरे ।  

मङ्गलबार बझाङ जिल्लामा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ भने २७ व्यक्ति घाइते भएका छन् । धेरै सरकारी र निजी भवन संरचनामा क्षति पुगेको छ । 

प्रदेशसभाका सदस्यले हालको अवस्थामा देखिएको आर्थिक मन्दीलाई महसुस गरेर कतिपय क्षेत्रमा अस्वाभाविकरुपमा लगाइएको करको दरमा पुनःविचार गर्न, सिकलसेल एनिमिया रोगीको प्रभावकारी उपचार व्यवस्थापन गर्न, किसानका समस्या समाधानमा ध्यान र बढ्दै गएको महँगी नियन्त्रण गर्न पनि ध्यानाकर्षण गराए ।

शून्य समयमा प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, खुशीराम डगौरा चौधरी, गीताकुमारी चौधरी, वीरबहादुर थापा, मानबहादुर रावल, लक्ष्मी विक, सन्तोषकुमारी शर्मा थापा, सरस्वती खड्का, जुनाकुमारी दानी र हिरा सार्कीले भाग लिएका थिए । 

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभासमक्ष टेबुल गरे । –रासस

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्