विचार

एउटा शासकमा करुणा, संवेदना र जबाफदेहिता त हुनैपर्छ तर...

बुधबार, असोज १७, २०८०

ट्ट सुन्दा सड़क या फुटपाथ आवागमनका लागि हो भन्ने लागे पनि विश्वभर पार्किंगदेखि व्यवसाय र मनोरञ्जनसम्मका लागि तिनको प्रयोग भएको देख्न पाइन्छ । 

सड़कमात्रै होइन, लण्डनको संसदभवनकै मुखमा रहेको वेस्टमिंस्टर पुलमा समेत भुटेको बदाम र पानी बेच्दै गरेका व्यवसायी देख्न सकिन्छ । सड़क या फुटपाथमा निश्चित स्थान या समयमा व्यापार गर्नका लागि शहरहरूले लाइसेन्सको व्यवस्था गरेका हुन्छन् ! यस्ता व्यवसायले व्यवसायीलाई मात्रै नभएर यात्रुलाई समेत सुविधा दिएका हुन्छन् । आजभोलि त सड़कको खाना (स्ट्रीट-फुड) विश्वभर फेशनजस्तो बन्दै गएको पनि छ । यस्तो देखे-सुनेकालाई बालेनको कदम अलि अविवेकी, निर्दयी र असामाजिक लाग्न सक्छ । 

हामीसँग दुई जना मान्छे नठोक्किई वारपार गर्न नसकिने केही बित्ता मात्रै चौड़ाइ भएका फुटपाथ छन् । ती पनि कुनै मोड़मा पुगेपछि एकाएक सकिन्छन् । डस्टबिनदेखि टेलिफोन र बिजुलीका पोल अनि तिनमाथि डरलाग्दो ढङ्गले जेलिएका काला तारहरू छन् ।

तर, काठमाडौंको अवस्था र समस्या अरूभन्दा अलग छ । पर्याप्त फुटपाथ र सड़क भए पो त्यहाँ मान्छेमात्रै हिँड्ने कि मकै पनि बेच्ने भन्ने प्रश्न उब्जिन्छ । फुटपाथ नै नहुने हो भने के बेच्ने ? कहाँ हिँड्ने ? 

हाम्रो समस्या भनेको फुटपाथ नै नहुनु हो । बालेनले फुटपाथ खाली गराउन होइन, बनाउन लागेको हुनुपर्छ । बन्यो भने पो त्यसमा के गर्ने भन्ने प्रश्न आउला । अहिले त छँदै छैन ! 

फराकिला फुटपाथ र हरेक मोड़मा चार-पाँच हजार मान्छे सजिलै अटाउने हरिया पार्कहरू शहरका शोभामात्रै होइनन्, जीवन नै हुन् । हाम्रा शहरमा जीवन छैन । हामीसँग दुई जना मान्छे नठोक्किई वारपार गर्न नसकिने केही बित्ता मात्रै चौड़ाइ भएका फुटपाथ छन् । ती पनि कुनै मोड़मा पुगेपछि एकाएक सकिन्छन् । डस्टबिनदेखि टेलिफोन र बिजुलीका पोल अनि तिनमाथि डरलाग्दो ढङ्गले जेलिएका काला तारहरू छन् । कहीँ त लत्रिएको तारले गर्दा हिँड्न पनि सकिन्न । न त्यहाँ शारीरिक दुर्बलता भएका व्यक्तिले ह्वीलचेयर गुडाउन सक्छन्, न बालबालिकाले निर्धक्क साइकल या हाते स्कुटर गुडाउन सक्छन् । सड़क आफैमा गल्ली जत्रा भएको शहरमा फुटपाथ ठूलो चाहिन्छ भन्ने चेतना हामीकहाँ आएकै छैन । शहरमा खुला ठाउँ कतै छोड़िएको छैन । भूकम्प जाँदा घरबाहिर सुरक्षित निस्किन सकिने खाली ठाउँसमेत नछोडी बस्ती बसाइको छ । मर्निंग वाक गर्न सकिने, गर्मी छल्न मिल्ने र ससाना भेलाहरू गर्न सकिने पार्कहरू त शून्य जस्तै छन् । न रुख छन्, न खोलानालाको किनार स्वच्छ छन् । सड़क, फुटपाथ र पार्क नभए पनि जनसङ्ख्या भने बढ्दो छ । त्यससँगै दुर्घटना पनि बढ्दो छ । 

दुःखद त के छ भने आज बन्दै गरेका सड़क, बस्दै गरेका बस्ती र प्लानिंगहरूमा पनि फुटपाथको चेत हामीसँग छैन । १३ फिटको बाटोमा ३ आना जग्गाका घडेरी बेच्न पाइन्छ । १३ फिटमा साइकल कुदाउनु कि गाड़ी ? मान्छे कहाँ हिँड्नु ! भरतपुरजस्ता अपेक्षाकृत नयाँ शहरमा समेत फुटपाथबिनाका बस्ती बस्दै छन् । २०×४० का घडेरीमा धमाधम घर बन्दै छन् । स्कुल जाने बच्चादेखि वृद्धसम्म र साइकल अनि ठेला गाड़ादेखि टिपरसम्म एउटै सड़कमा भएपछि दुर्घटना कति दिन टाढा होला र ? 

लण्डनमा फुटपाथसँग तुलना गर्दै व्यवसायका तस्बीर हाल्नु बेइमानी हो । त्यहाँ हाम्रा सड़कभन्दा ठूला फुटपाथ छन् । सड़कमा साइकल लेन छन् । घरमा अगाडि पछाडि आँगन छन् । सड़कमा ट्राफिक लाइट छन् । छेउमा उभिने ठाउँ छन् । सुरक्षित रूपमा बाटो काट्न सकिन्छ । सबै कुरा प्लानिंगमा चलेको छ । यस्तोमा हाम्रो सड़क र फुटपाथसँग के तुलना हुन्छ र ? 

एउटा शासकमा करुणा, संवेदना र जबाफदेहिता त हुनैपर्छ तर हाम्रो शहर यति अव्यवस्थित छ कि अलिकति निर्दयी र कठोर नबनी एउटा सिन्को पनि भाँच्न सकिन्न । 

फ़ुटपाथका मुख्य हकदार विश्वभर पैदलयात्री नै हुन् । तिनलाई असुविधा नहुने गरी अन्य प्रयोजनमा प्रयोग गर्ने कुरो दोस्रो हो । हाम्रा सड़क र फुटपाथ बालबच्चा, अशक्त र वृद्धवृद्धाका लागि यत्तिकै असुरक्षित छन्, अपर्याप्त छन् । त्यसमा व्यवसाय गर्नु त्यसै असुरक्षित हुने भयो ।  तत्काल फुटपाथ बढाउन सकिने अवस्था पनि छैन । यस्तोमा जे जति छ त्यसलाई सुरक्षित र गतिशील बनाउनुको विकल्प छैन । शहरसँग खाली ठाउँ र पार्क पनि छैन जहाँ व्यवसायीलाई विकल्प दिन सकियोस् । 

एउटा शासकमा करुणा, संवेदना र जबाफदेहिता त हुनैपर्छ तर हाम्रो शहर यति अव्यवस्थित छ कि अलिकति निर्दयी र कठोर नबनी एउटा सिन्को पनि भाँच्न सकिन्न । 

गरिबी देशको र हामी सबैको साझा समस्या हो । प्रधानमन्त्रीदेखि मेयरसम्म सबैको हो । परिवार पाल्नका लागि सड़कमा व्यवसाय गर्न बाध्य व्यक्तिहरू पक्कै तिरस्कार, हेला र अपमानका पात्र होइनन् । तर, त्यसको उपचार सड़क र फुटपाथबाहेक अन्यत्र खोज्नु हामी सबैका लागि लाभप्रद हुनसक्छ । निरपेक्ष गरिबीको रेखामुनि ठूलो जनसङ्ख्या छ । सड़कले कतिलाई रोजगारी दिन सक्छ र ?

साधनस्रोत र आवश्यकताबीच खाड़ल भएपछि कोही न कोही त निर्दयी बनेर निस्किनै पर्छ । काठमाडौंका मेयरले त्यो रिस्क लिएका छन् भने एकपल्ट हामी सबैका लागि र सधैँका लागि उनलाई सिर्जनात्मक साथ दिऔं र र एउटा नयाँ अध्याय सुरु गरौँ ! उनलाई हराउन होइन, जिताउन लागौं । हामी सबै मिलेर ती पीड़ितहरूलाई सड़कबाहिर पनि पक्कै व्यवस्थित गर्न सकिएला ।  शहरभरि फराकिला र पर्याप्त फुटपाथ बनेको दिन, जताततै पार्क र खुला ठाउँ बनेको दिन फेरि गरिब र  सड़कमैत्री व्यापारबारे बहस गरौँला ! बरु यो अभियानलाई फुटपाथको महाभियान बनाएर देशभर लागू गरौँ !

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्