बाहलवाला गृहमन्त्री हुँदा बिहेको औंठी किन्न नसक्ने देउवा, ‘छुई’ मान्ने आरजु कसरी बिग्रिए?

मंगलबार, असोज ९, २०८०

काठमाडौंअति कम बोल्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भद्र राजनीतिक बिगत देखेका खेमराज सेढाँईलाई अहिले उदेक लाग्छ।

देउवा र आरजु राणाको राजनीतिक र आर्थिक विरासत देखेर छक्क पर्ने सेढाँई कांग्रेसनजिकका व्यापारी थिए।

कांग्रेसभित्र पनि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)सँग नजिक रहेका उनले देउवा र आरजुका बारेमा कतिपय किस्सा सार्वजनिक भएका अन्तरवार्तामा सुनाएका छन्।

१६ रोपनीको बुढानिलकण्ठको देउवा दरबार कसरी बन्यो होला भन्ने प्रश्नले सेढाँईलाई कुतकुत्याउँछ। उनी भन्छन्,‘उनीहरूलाई कसले कसरी शक्ति केन्द्रमा रहँदा बिगारे? यो देशी धनले मात्र त बनेको होइन होला?

देउवा बाहलवाला गृहमन्त्री रहँदा अति सोझा र नैतिक राजनीतिका पयार्य रहेको उदाहरण उनले पेस गर्दै किसुनजीसँग जोडिएको किस्सा समेत सुनाएका छन्।

देउवा र आरजु राणाको बिहेको निधो भएछ। त्यहि क्रममा देउवालाई औंठी किन्नुपर्ने आपत आइलागेछ, सेढाँईले सुनाएका छन्।

हिराको औंठी नै दिनुपर्ने भएपछि गृहमन्त्री देउवा कृष्णप्रसाद भट्टराई (किसुनजी)को कोपुन्डोलस्थित डेरामा पुगे।

एउटा मात्र कोठामा बसेका किसुनजीकहाँ असहज नमानी पुगेका देउवाले आग्रहका साथ भने,‘किसुनजी, राणाको छोरीसित बिहे गर्न लागेको, सुनको औंठी बनाएँ। बर्बाद भयो, हिराको चाहिने रहेछ। ७५ हजार लाग्ने रहेछ।

यो सुनेलगत्तै किसुनजीले कोठाबाहिर रहेका खेमराज सेढाँईलाई बोलाए। र, उनीतिर देखाउँदै देउवालाई भने,‘सेढाँईजीले दिनुहुन्छ। तपाईले ७५ हजार रुपैंया गृहमन्त्री देउवालाई दिनू।

अवाक भएका सेढाँईले हुन्छ भनिदिए।

भोलीपल्ट देउवालाई उनले ७५ हजार रुपैंयाको औंठी किन्न रकम दिए।

संगती बढ्दै गएपछि तीन पटकसम्म प्रधानमन्त्री हुँदा देउवासित राम्रो सम्बन्ध राखेका सेढाँई भन्छन्,‘त्यसपछि भने संगत छैन। त्यस्ता मान्छे कसरी बिग्रिए? हामी त कहिलेकाहीँ साँझ सोमरस पनि पिउने गर्दथ्यौं।

सेढाँईले सुनाएका किस्सा यति मात्र छैनन्। देउवा निवासमा जाँदा कहिलेकाहीँ आरजु राणा मिन्स हुँदा छुई भएको छ भन्ने गर्थिन्।

सेढाईँले कतिपय अन्तरवार्तामा भनेका छन्,‘केही लिन पर्यो भने आरजुले माग्थिन्। अनि, त्यहाँ जान हुन्न मलाई छुई भएको छ भन्थिन्।

देउवा आरजुभन्दा १५ वर्ष जेठा छन्। २०४८ सालको निर्वाचन जितेपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गृहमन्त्री भएकै बेला आरजुसँग विवाह भएको थियो। देउवाआरजुको लगनगाँठो कस्नमा अमेरिकी कूटनीतिज्ञहरूको हात थियो।

चिनियाँ मूलकी राजदूत जुलिया चाङ त मुख्य पहलकर्ता भइहालिन्।

उनको पर्सनल असिन्टेण्ट एलिजाबेथ ओल्सनले पनि महत्वपूर्ण भूमिका खेलिन्। अमेरिकी दूतावासमा १० वर्ष बिताएकी उनी र राजदूत ब्लकले घरिघरि नउकासेको भए सायदै यी दुईको विहे हुन्थ्यो होला।

नले देउवा र आरजूलाई तिमीहरू दुवै अविवाहित छौ, बरु विवाह गर भनेर सम्झाउने गरेकी थिइन्। देउवा र आरजूको विवाहमा उनलाई पनि निमन्त्रणा थियो।

तर यतिबेला कांग्रेसको आन्तरिक र सत्ता राजनीतिमा देउवा र आरजुको भूमिका देखेर सेढाँई झै सुरुका दिनमा संगत गरेकाहरू तीन छक पर्छन्।

राजनीतिको रेखामा उनीहरू गलत अभ्यासमा रहेको भनी टिप्पणी हुने गरेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्