विदेशबाट काठ ल्याउन रोक्नपर्छ : मुख्यमन्त्री जम्कट्टेल

शनिबार, असोज ६, २०८०

नारायणगढ– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताएका छन् ।

नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर चितवनकोे रजत महोत्सव समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले यहाँ भएका काठ सुकेर जाने गरेको र अर्बौंका काठ विदेशबाट ल्याइएको बताए । 

उनले भने, “यहाँ हामी काठ काट्न नदिने अनि विदेशबाट काठ ल्याउने ! नेपालीलाई चाहिने काठ नेपालमै छ । विदेशबाट काठ ल्याउन हामीले रोक्नुपर्छ ।” उनले बागमती प्रदेश सरकारले ऐनमा संशोधन गरेर उपभोक्तालाई आवश्यक काठ दिने नीति बनाउन लागेको बताए । उनले थपे, “हामी जथाभावी काठ काट्न दिदैँनौँ तर काठ दिन रोक्न पाइँदैन ।”

उनले वन जङ्गल जोगाउनु सबैको कर्तव्य भएको भन्दै वनबाट फाइदा पनि लिनपर्ने बताए । हाम्रोजस्तो विविधताले भरिएको मुलुक अन्त कतै नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले वनबाट झरेको पातबाट प्राङ्गारिक मल बनाउन लागेको जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा राखेर प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राङ्गारिक मल कारखाना स्थापना गर्नेतर्फ सरकार लागेको उनको भनाइ थियो । सङ्घीय लोकतात्रिक गणतन्त्र नेपाललाई समृद्घ नेपाल बनाउने जिम्मेवारीका साथ सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने भन्दै उनले नयाँ तरिकाले कृषि कर्म गर्नुपर्ने बताए ।

उनले भने, “किसानका नाममा धेरै प्रतिशत अनुदान दुरुपयोग भएको छ । अब व्यक्तिलाई अनुदान नदिई समुदायमा आधारित कृषि उत्पादनको मोडेलमा बागमती प्रदेश सरकार जान लागेको छ ।”

फरक प्रसङ्गमा मन्त्री जम्कट्टेलले नर्सिङ पढ्नका लागि बागमती प्रदेश सरकारले क्षमता भएका कलेजमा पढ्नका लागि खुला गर्न लागेको बताए । उनले भने, “अब नर्स पढ्न बागमती प्रदेशमा बन्देज हुँदैन ।” उनले अन्तर्राष्ट्रियस्तरमा नेपाली नर्स तथा चिकित्सकको माग बढिरहेको अवस्थामा यहाँ पढ्नै नपाउन गरी रोक्न नहुने बताए । कतिमा पढाउने भन्ने कुराको पनि सूचना आइसकेको उनले जानकारी गराए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकारले विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेको बताए । उनले स्वास्थ्यको क्षेत्रमा आम सेवाग्राहीको स–साना गुनासासमेत सम्बोधन गरेको जानकारी गराए । उनले भने, “हामीले धेरै कामको थालनी गरेका छौँ, कतिपय कामको सकारात्मक प्रतिफल पनि आइसकेको छ ।” 

कार्यक्रममा वन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिको सहभागिता रहेको थियो । ‘हाम्रो लगानी हरेक बोट, जनजनमा सामुदायिक वन संरक्षणको २५ औँ वर्षको रजत महोत्सव’ भन्ने मूल नाराका साथ नवजागृति सामुदायिक वन उपभोक्ता समूहले विभिन्न कार्यक्रम गरी रजत महोत्सव समापन गरेको हो ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्