Nic Ad Nic Ad
Nic Ad Nic Ad

लेखापढी व्यवसायीलाई मर्यादामा रहेर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

शनिबार, असोज ६, २०८०

भरतपुर– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले लेखापढी व्यवसायलाई मर्यादित बनाउन आग्रह गरेकी छन् ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आज चितवनको भरतपुरमा आयोजित सातौँ राष्ट्रिय परिषद् बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतालाई सहजरूपमा सेवा प्रदान गर्दै पारदर्शी काम गर्न व्यवसायीलाई आग्रह गरिन् ।

“मालपोत, नापीका कर्मचारी र लेखापढी व्यवसायीलाई सेवाग्राहीबाट विभिन्न आरोप लाग्दै आएको छ”, उनले भनिन्, “सेवाग्राहीमैत्री काम गरेर आगामी दिनमा आरोप आउने परिस्थितिको अन्त्य हुनुपर्छ ।”  उनले लेखापढी व्यवसायीले सेवा शुल्क पारदर्शीरूपमा लिन र पहिचान दिने पोशाक लगाउन आग्रह गरिन् । 

मालपोत, नापी र सेवाग्राहीबीच पुलको काम लेखापढी व्यवसायले गरेको उल्लेख गर्दै व्यावसायिक सुरक्षाका लागि सरकारले सहयोग गर्ने मन्त्री श्रेष्ठले बताइन् । भूमि सुधार, मालपोत र नापीबाट प्रदान हुने सेवा सरल, सहज र छिटो–छरितो बनाउन सहयोगी संस्थाका रूपमा लेखापढी व्यवसायीले सहयोग गरिरहेको उनले बताइन् । लेखापढी व्यवसायलाई जिम्मेवार निकाय मानेको भन्दै व्यावसायिक मर्यादामा रहेर काम गर्न मन्त्री श्रेष्ठले निर्देशन दिइन् ।

सरकारले मालपोत र नापीको काम अनलाइन प्रणालीबाट गर्ने गरी रुपान्तरण गरिरहेको मन्त्री श्रेष्ठको भनाइ छ । उनले सेवाग्राही र कर्मचारीसँग निरन्तर अन्तक्र्रिया तथा छलफल गरेर सेवा प्रवाहलाई सुधार गर्दै लैजानुपर्ने बताइन् ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्