प्रचण्ड अमेरिकामा पक्राउ पर्ने समाचारको त्यो त्रासदी

मंगलबार, असोज २, २०८०
  • विनोद ढकाल 

पत्रकारितामा साहस अलोकप्रिय हो, लोकप्रिय होइन। पत्रकारिताले तपाईलाई जीवित राख्नेछ। तथ्यनजिक रहेर पुष्टिका अनेक आधारसहित लेखिने र त्यसको प्रभावलाई जडसम्म लग्न सकिन्छ भन्ने आधारशिलामा अडिएको हुन्छ, पत्रकारिता।

तर कहिलेकाहीँ समाचार मात्र भन्दा पनि व्यवाहारिक पक्ष, खासगरी देशका निम्ति वा देशका प्रतिनिधिका निम्ति पनि सोच्न आवश्यक हुने रहेछ भन्ने आत्मसमिक्षा होला। समाचारको माइलेज एकातिर भए पनि माई भिलेज भन्ने पनि अर्थपूर्ण हुने रहेछ।

यहि आत्मबोधका साथ एउटा समाचारको प्रभावका विषयबस्तुले ल्याएको तरङ्ग र त्रासदीलाई कोट्याउन मन लाग्यो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणसँगै।

२०७५ सालमा पत्नी सीता दाहालको उपचारका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष अमेरिका पुगेपछि सनसनी हुनेगरी एउटा इमेल प्राप्त भयोअमेरिकी फेडेरल ब्युरो अफ इन्भेष्टिगेशन (एफबीआई)मा दिएको उजुरी।

डा. तिलक श्रेष्ठका नामबाट परेको उक्त उजुरीमा प्रचण्डलाई युद्ध अपराधीका रुपमा पक्राउ गर्नका लागि भनिएको थियो। यसबारेको पूर्ण आधिकारिकताको खोजीनीति चलिरहेकै थियो तर समाचार रोक्न नसकिने स्थिति पनि। यसको अर्को पृष्ठभूमीको तथ्याचाहिँ पक्राउ पर्ने डरका कारण नै केही समयअघि प्रचण्डको अस्ट्रेलिया भ्रमण रद्द भएको थियो। अहिलेसम्म पनि उनी अस्ट्रेलिया यहि कारण जान सकेका छैनन् भनिन्छ। संक्रमणकालिन न्यायको समाधानका निम्ति सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतको विधेयकसँगै विकसित कुटनीतिक अवस्थाबारेचाहिँ त्यति जानकारी भएन। अहिले, सम्भवतः फरक स्थिति भइसक्यो होला।

नेपालका प्रधानमन्त्री अहिले अमेरिका भ्रमणमा छन्। युद्धपछिको शान्ति प्रक्रियाको मध्यस्तता गरेको राष्ट्र संघको महासभामा भाग लिन गएका कारण प्रधानमन्त्री सुरक्षित छन्। त्यो मिलाइएको पनि छ। तर, उनको यो अमेरिका भ्रमण र त्यो अमेरिका भ्रमणका निक्कै त्रासदीका किस्सा स्वयम् नेपाल फर्किनासाथ प्रचण्डले बताएका थिए, त्यसबेला।

यो प्रसङ्गलाई पनि यहाँ जोडिनेछ। तर, त्यसअघि ५ बर्षअघिको सानो घटनाक्रम र न्युजरुमबाट मैले खेपेको दबाब र प्रभावको प्रसङ्ग कोर्न चहान्छु।

उजुरीकर्ता डा. तिलक श्रेष्ठले बाल्टिमोरस्थित एफबीआईलाई सम्बोधन गर्दै उजुरी दिएका थिए। उजुरीमा एकजना चर्चित आतंककारी भन्दै प्रचण्ड अमेरिका भ्रमणमा रहेको जनाइएको थियो।

उजुरीमा सुरुमा अमेरिकाको आतंकवादी सूचीमा रहेका प्रचण्डले सुरु गरेको युद्धका कारण नेपालमा १७ हजार गरिब नेपालीले ज्यान गुमाएको जनाइएको थियो । उनी जोन हप्किन हस्पतालमा श्रीमतीको उपचारका क्रममा आएका छन् भनी उजुरीमा उल्लेख थियो।

उजुरीमा आतंककारी सम्बन्धी अमेरिकन मापदण्ड, नैतिक मूल्य, आन्तरिक र बाह्य कानुनी दायित्वमा रहेर कारबाही अघि बढाउन आग्रह गरिएको थियो।

श्रेष्ठले दिएको उजुरी यस्तो थियो।

ujuri1695110045.jpg

जब यो समाचार प्रकाशित भयो, अनि न्युजरुम सिधा माओवादी हेडक्वार्टर, राज्यका विविध संयन्त्रसँग प्रत्यक्ष जोडिन थाल्यो।

प्रचण्डका तत्कालिन प्रेस सल्लाहकार विष्णु सापकोटा जुगल, वाईसीएलका तत्कालिन अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखालगायतले निरन्तर फोन गरी समाचारको तथ्यबारे सोधेका थिए। तर, लेखिएको समाचारलाई पुष्टि गर्नुको विकल्प नभएपछि बाल्टिमोरस्थित फेडरल ब्युरो अफ इन्भेष्टिगेशन (एफबीआई)मा अफिसियल इमेल पठाएँ। एफबीआईले त्यो उजुरीबारे कुटनीतिक उत्तर दियो। उजुरी परेको संकेत गर्दै आधिकारिक रुपमा भन्न नसकिने बतायो। तर, त्यसको कारण थियोतत्कालिन नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीसँग खुमलटारमा भएको भेटमा सबै सेटिङ भइसकेको रहेछ।

तर त्यसबेला प्रेस सल्लाहकार सापकोटाले भनेको एउटा विशेष आग्रहचाहिँ अहिले पनि स्मरण हुन्छ। उनले भनेका थिए,‘उजुरी परेको रहेछ भने पनि हाम्रो देशको शान्ति प्रक्रियामा हस्ताक्षर गरेको एउटा मूल पक्ष, जीवित पक्षलाई पक्राउ नै गराउने हो त? त्यसो गर्दा राम्रो सन्देश जान्छ?

वास्तवमा यो प्रश्नले कहीँ खिप्यो। यसपछि फलोअप गरिएन। यहाँ चुकियो, चुकिएन भन्ने हेक्का राखिनँ। तर, सापकोटाको प्रश्नले घोच्नचाहिँ घोच्यो।

यद्यपि, त्यो विषयबारे प्रचण्ड आफैं पनि खुले।

अमेरिकामा उत्रिनासाथ तत्कालिन राजदूत डा. अर्जुन कार्की हस्याङ फस्याङ गरेको र मलाई पक्राउ गर्ने कुरा रहेको सुनाआउन आइपुगे। तर मैले नआत्तिन भनेको थिएँ। एउटा देशको पूर्वप्रधानमन्त्रीलाई यसै कसरी पक्राउ हुन सक्छ? भनी म आफैंले आस्वस्त पारें, प्रचण्डले त्रिभुवन विमानस्थलमा उत्रिएर भनेका थिए,‘मविरुद्ध उजुरी परेको रहेछ। तर, त्यस्तो खतरा केही भएन।

प्रचण्डको यो भनाईसँगै समाचार थप पुष्टि भयो। धेरै त एफबीआईको स्टेटमेन्ट र मैले प्राप्त गरेको इमेलले नै ढुक्क बनाएको थियो। तर प्रचण्डले थप भनिदिएपछि माओवादीविरोधीको आरोप लगाउने एउटा कित्ताको मुख निन्याउरो भयो, उनीहरु नै असफल भए।

प्रचण्डको अहिलेको अमेरिका भ्रमणले ५ बर्षअघिको त्यो समयलाई स्मृतिमा ल्याइदियो। प्रधानमन्त्रीको यस पटकको भ्रमण सफल होस्, शुभकामना छ!

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्