Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुपन्देहीमा दुई मजदुर समूहबीच झडप हुँदा एक जनाको मृत्यु

मंगलबार, असोज २, २०८०

रूपन्देही- रूपन्देहीको तिलोत्तमामा गएराति दुई मजदुर समूहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ। सोही झडपमा परी तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका–९ केउलानीमा दुई समूहबीच सोमबार राति झडप भएको थियो। एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवाद बढ्दै जाँदा झडप भएको हो।

प्रहरी नायब उपरीक्षक थापाले झडपमा परी हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको बताए।

अर्को समूहको चक्कु प्रहारबाट गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएका छन्।

उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्