साहित्यकार श्रीकृष्ण न्यौपानेको नवौँ कृति फेसबुक-लभ खण्डकाव्य प्रकाशित

आइतबार, भदौ ३१, २०८०

लमजुङ - पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष एवं लमजुङे साहित्यकार श्रीकृष्ण न्यौपानेको नवौँ कृतिका रूपमा फेसबुक-लभ खण्डकाव्य प्रकाशित भएको छ । 

२०८० कुशे औँसीको अवसरमा सार्वजनिक कृतिमा दोलखा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी, साझा प्रकाशनका निवर्तमान महाप्रबन्धक एवं ऐतिहासिक छन्द कवि प्रह्लाद पोखरेलले भूमिका लेख्नुभएको छ ।
३ सर्गमा विभाजित र झण्डै ३०० श्लोक शिखरिणी छन्दमा लेखिएको प्रस्तुत खण्डकाव्य फेसबुक लभ समसामयिक विषयवस्तुमा आधारित छ ।

रविना, धनपुर र जुलीलाई प्रमुख पात्रका रूपमा खडा गरेको प्रस्तुत खण्डकाव्यमा पहिले रविना र पछि जुलीको नक्कली प्रेममा असावधानीपूर्वक फसेर विदेशमा कठिन परिश्रमले आर्जन गरेको दुःखको कमाइ काव्यनायक धनपुरले  स्वाहा पारेको विषयलाई उद्घाटन गरी सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट गरिने अन्धो तथा आलोकाँचो प्रेम र त्यसको भयावह परिणामबारे प्रस्तुत खण्डकाव्य मार्फत् कविले समाजलाई सतर्क पारेकाछन् ।

झण्डै आधा शताब्दीदेखि नेपाली साहित्यको उत्थानमा  सक्रिय न्यौपानेले पहिलोपटक २०४८ सालमा छली सामाजिक काव्य प्रकाशित गरेको ३१ बर्षपछि २०७९ भदौ महिनामा  दोस्रो कृतिका रूपमा ऐतिहासिक काव्य भृकुटी प्रकाशित गर्नुभएको थियोे । २०७९ भदौ कुशे औँसी देखि २०८० भदौ कुशे औँसीसम्म आउँदा पछिल्लो १ बर्षको अवधिमा  साहित्यकार न्यौपानेका भाउजू, आमा, राता सिपाही र फेसबुक लभ गरी ४ खण्डकाव्य, सयछन्द कविता सङ्ग्रह, शास्त्रीय गजलहरूको सङ्ग्रह श्रीकृष्ण गजल सङ्ग्रह र रातो बाघ महाकाव्य गरी ८ वटा कृतिहरू प्रकाशित भएका छन् भने छली सामाजिक काव्य २०४८ समेत गरी जम्मा ९ वटा कृति प्रकाशित भएका छन् ।

बरिस्ठ छन्दवादी कवि प्रह्लाद पोखरेल खण्डकाव्यमा भूमिका लेख्दै प्रतिभा, व्युत्पत्ति र अभ्यासले खारिएका अथक अक्षरकर्मी न्यौपानेले लमजुङको धर्ती मात्र नभएर आफ्नो प्रतिभाको आलोकले समग्र नेपाली साहित्य जगत्लाई नै आलोकित पार्न थालेको बताउनुहुन्छ ।

साहित्यकार न्यौपानेबाट रचित विषाालु धरती महाकाव्य, विपासना महाकाव्य लगायतका कृतिहरू निरन्तर प्रकाशित हुँदै जाने निजको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्