राप्रपाकाे विरोध सभा

देशलाई दुर्घटनाबाट जोगाउन राजालाई स्पेश दिनुपर्छ : अध्यक्ष लिङ्देन

धार्मिक द्वन्द्व निम्त्याउनको लागि धर्म निरपेक्षता ल्याइएको जिकिर
बुधबार, भदौ २७, २०८०

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्ने बताएका छन् । 

पार्टीले बुधबार काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरुलाई आग्रह समेत गरे ।

उनले ०६२÷६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आएको भन्दै यहि गलत बाटोलाई अघि बढाउन खोजे देश गम्भीर दुर्घटनामा फस्ने धारणा राखे । देश र जनताप्रति माया सुध्रिनका लागि कांग्रेस, एमाले र माओवादीलाई सुझाव दिदै लिङ्देनले सुध्रने संकेत नदेखाए राप्रपाले नयाँ संघर्षको नेतृत्व गर्ने चेतावनी दिए ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने बताए । जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरुले सिण्डिकेटको शिकार बनाएकाले त्यसलाई उल्टाउनका लागि जनता काठमाडौँ घेर्न तयारी गरिरहेको उनले बताए । उनले जनता जागेर आएको दिन व्यवस्थाबाट भाग्ने बाहेकको कुनै बिकल्प नहुने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन दलहरु नै राष्ट्रिय मेलमिलाप गर्न तयार हुनुपर्ने धारणा राखे ।  

उनले धार्मिक द्वन्द्व निम्त्याउनको लागि धर्म निरपेक्षता ल्याइएको जिकिर गरे । गणतन्त्रका पक्षधर नेपालका सबैभन्दा जेठोदेखि कान्छो पार्टी एउटै कित्ताको भएको बताउँदै उनीहरुबाट देशमा समृद्धि सम्भव नरहेको उनले बताए  । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्