यस्ता छन् प्रधानमन्त्रीको चीन भ्रमणका एजेन्डा

मंगलबार, भदौ १२, २०८०

काठमाडौं - प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको मिति तय भइसकेको छैन । तर, भ्रमणका लागि तयारी तिव्र छ । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको महासभा सकिएपछि प्रधानमन्त्रीले छिमेकी राष्ट्र चीनको भ्रमण गर्नेछन् । 

चीन भ्रमणमा प्रधानमन्त्रीका प्राथमिकता र एजेन्डा के हुन् ? प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा कांग्रेस सांसद् उदयशम्शेर राणाले मंगलबार सोधे । 

जवाफमा प्रधानमन्त्रीले नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउन भ्रमण केन्द्रित रहने बताए  । नेपाल र चीनबीचको सीमा नाकाको सञ्चालनलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिने समेत उनले बताए । 

‘सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि र व्यापार भ्रमणको मुख्य प्राथमिकता र एजेन्डा हुन्,’ प्रधानमन्त्रीले भने, ‘विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी योजना समेत चीनको सहयोगमा अघि बढाउने योजना छ ।’ प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच अन्तर्देशीय बिजुली व्यापार, किमाथांका जलविद्युत आयोजना निर्माण जस्ता विषय मुख्य छन् ।

हालसम्म नेपाल र चीनबीच अन्तर्देशीय बिजुली व्यापार सम्झौता भएको छैन । नेपाल र भारतबीच मात्रै अन्तर्देशीय बिजुली व्यापार भइरहेको छ । यस्तै, बङ्गलादेशतर्फ ४० मेगावाट बिजुली बेच्ने सम्झौताको तयारी हुँदै छ । यसैबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग समेत बिजुली खरिद–बिक्री सम्झौता सम्पन्न भए उत्पादित बिजुली बेच्ने थप बाटो खुल्नेछ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका आयोजनालाई समेत प्राथमिकतामा राख्ने तयारी भइरहेको बताइएको छ । हाल सञ्चालनमा रहेका नाकालाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने तथा थप व्यापारिक नाका निर्माणमा चीनको सहयोग माग्ने योजना नेपाली पक्षको छ ।

 प्रधानमन्त्री दाहालले यसअघिका भ्रमणमा भएको सम्झौता कार्यान्वयनको विषय समेत उठाउने बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्