एमालेमा रावल ‘फ्याक्टर’को धैर्यताको कसी
काठमाडौं– लामो समयसम्म नेकपा एमालेमा बाइपास गर्न खोजिएका नेता भिम रावललाई खास जिम्मेवारी दिने अभ्यास सुरु भएको छ। नेकपा विभाजनका बेला माधवकुमार नेपालको पक्षमा खुलेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले रुचाएका थिएनन्।
१०औं महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल त्यसपछि भने जिम्मेवारीबिहिन अवस्थामा थिए। एक प्रकारले उनी एमालेभित्रका बिद्रोही नेताका रुपमा कथित थिए।
घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा गए पनि रावलले एमालेमा रहने निर्णयको कसीले अहिले सकारात्मक सूचक दिएको छ। उनलाई खास जिम्मेवारी दिने तयारी समेत भएको छ।
‘पार्टीभित्र वैचारिक मतभेदका हुन्छन्। त्यसमा आफ्नो मत राखेर अडिग रहनुको अर्थ पार्टीका लागि समर्पित हुनु रहेको प्रमाणित हुन्छ’, एमाले स्रोतले भन्यो,‘भिम रावल त्यसैका एक प्रतीक हुन्। जसलाई अध्यक्ष ओलीले पनि मान्नुभएको छ।’
केही समयअघि मात्र ओलीले एमाले मुख्यालय तुलसीलाल भवनमा रावलसँग वान टु वान वार्ता गरेका थिए। सकारात्मक वार्तापछि सुदूरपश्चिममा भएको सार्वजनिक कार्यक्रममा ओली र रावलले मञ्च शेयर पनि गरेका थिए।
महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका रावललाई किनारामा राख्ने प्रयत्न मात्र भएन, सूदुरपश्चिम प्रदेशको इन्चार्ज दिइएन भने चुनावमा टिकटबाट पनि बञ्चित गरियो। तर, पसिना बगाएको एमाले उनले छाडेनन्, उनको धैर्यताले जितेका कारण ओलीले उनीसँग वार्ता गरे र केही जिम्मेवारी दिने तयारी पनि गरेका छन्।
रावलनिकट एक नेता भन्छन्,‘राजनीतिमा कहिलेकाहीँ किनारामा पारिए पनि निष्ठा छाड्न हुन्न, उसले जिम्मेवारी नपाउने भन्ने हुँदैन।’
रावल एमालेको समस्या समाधानका निम्ति खटिएका १० बुँदे सम्झौतापत्रका एक मस्यौदाकार पनि हुन्। माधवकुमार नेपालले त्यसलाई लत्याएपछि उनी एमालेमा नै सक्रिय हुने निर्णयकर्ता थिए।