महिला विश्वकप फुटबल

स्पेन महिला विश्वकप फुटबलको च्याम्पियन

आइतबार, भदौ ३, २०८०

काठमाडौँ– स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

आइतबार भएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १—० गोलले हराउँदै स्पेनले महिला विश्वकप फुटबलको उपाधि जितेको हो ।

खेल सुरु भएको २९औं मिनेटमा स्पेनले अग्रता लिएको थियो । स्पेनका लागि ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन । 

स्पेनले खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन् । तर पनि उनले टिमलाई उपाधि जिताउन सकिनन् ।

यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ ।

स्पेन समूह ‘सी’ मा दोस्रो हुँदै नवौं विश्वकपको नकआउट चरणमा पुगेको थियो । समूहगत चरणमा स्पेनले कोस्टा रिका र जाम्बियालाई हराएको थियो । जापानसँग भने स्पेन पराजित भएको थियो । प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई ५—१ गोलले हराएको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्