Nic Ad Nic Ad
Nic Ad Nic Ad
हात्ती आतंक

मध्यरातमा एक्कासि हात्तीले घर भत्काउन थालेपछि...

सोमबार, साउन १५, २०८०

कैलाली- टीकापुर–२, राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएकी कालीदेवीको घर एक्कासि हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । 

कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो । 'हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ,’ कालीदेवीले भनिन्, 'घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो । हामी घरमा चार जना थियौँ, छोरी, छोरा र १३ वर्षको नाती । बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्‍याए थाहा छैन ।'

हात्तीले पछाडितिर भत्काउन थालेपछि अगाडिपट्टिको ढोकाबाट उनको परिवार भाग्न सफल भएको थियो । कालीदेवीका अनुसार हात्ती अगाडितिरबाट आएको भए भाग्न सकिने थिएन । 'हात्ती देखेपछि आँखा देखिन, डरले मुटु काप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौँ,' उनले भनिन्, 'यसरी भागिएछ कि भाग्दा भाग्दै बर्दिया जाने पुलसम्म भागिएछ । हामी कराउँदै भागेका थियौँ । खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौँ ।'

परिवार कराउँदै दौड्न थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएको स्थानीय दानबहादुर सुनारले बताए । राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुश्किल भएको बताउँछन् । यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।

विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको स्थानीय बताउँछन् । यसरी पटकपटक नोक्सानी पुर्‍याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ । गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको  सुरक्षाका लागि स्थानीय सरकारले सडकबत्तीको व्यवस्था गर्नुपर्ने स्थानीय हरि सुनारले बताए । 'अहिलेसम्म चार घर हात्तीले भत्काइसकेको छ,' उनले भने, 'वर्षौँदेखि यही बसिरहेका हामी कहाँ जानु ? त्रासमा पनि कसरी बस्ने होला ?'

हात्तीले क्षति गरेको स्थानको वडाध्यक्ष दीपक चौधरीले अनुगमन गरेका छन् । अनुगमनका क्रममा एउटा घर, धान बालीमा क्षति हुनुका साथै भकारीमा रहेको धान खाएको उनले बताए । क्षतिको यकिन विवरण सङ्कलन गरी त्यहीअनुसार राहत उपलब्ध गराइने वडाध्यक्ष चौधरीले जानकारी दिए । 

'हात्ती तथा जङ्गली जनावरको जोखिम छ, सुरक्षित हुनुस् भनी स्थानीयलाई नियमित सूचना जारी गरिरहेका छौँ,’ उनले भने, 'जङ्गल बस्ती नजिक भएकाले यहाँका नागरिक असुरक्षित छन् । क्षति भएका परिवारलाई राहत दिन पालिकाले सक्दो सहयोग गर्नेछ ।' -रासस

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्