लुम्बिनी प्रदेश

महिलाको आर्थिकस्तर सुधारमा लागिपरेका छौँ : मुख्यमन्त्री चौधरी

आइतबार, साउन १४, २०८०

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार महिलाको सशक्तिकरण एवं उनीहरुको आर्थिक अवस्था सुधार्न लागिपरेको बताएका छन् ।

नेपाल महिला सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले महिलाको जीवनस्तर सुधार गर्ने कार्यक्रम ल्याउन सरकार लागिपरेको बताए । 

मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सिमान्तकृत समुदायको जीवनस्तर सुधार गर्नका लागि महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको जानकारी दिए । उनले युवा, महिला र सिमान्तकृत समुदायको आर्थिक विकासका लागि प्रदेश सरकार लागि परेको स्पष्ट पारे । 

भौतिक विकासभन्दा पनि आर्थिक विकासलाई जोड दिने प्रदेश सरकारको नीति भएको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले घरघरमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ लुम्बिनी प्रदेश सरकार लागेको बताए । उनले भने, “प्रदेश सरकारको मुख्य ध्यान युवा, महिला र सिमान्तकृत समुदायको आर्थिक विकास रहेको छ । त्यही अनुसार प्रदेश सरकारको नीति रहेको छ ।” 

थारु, दलित, वादी, जनजातिलगायतका समुदायको आयस्तर बृद्धिका लागि बजेट विनियोजन गरेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले उत्पादन र स्वरोजगारमूलक कार्यक्रमका लागि तयार रहनुपर्नेमा जोड दिए । 

सोही कार्यक्रममा स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो । उहाँले जनताले निःशुल्क रुपमा प्राप्त गर्ने स्वास्थ्य र शिक्षालाई जनता समक्ष पुर्याउन लागिपरेको बताए । 

स्वास्थ्यमन्त्री खनालले भन्नुभयो, “प्रदेशको स्वास्थ्य अवस्थालाई सुधार गर्दै जनताले निःशुल्क रुपमा स्वास्थ्य र शिक्षा प्राप्त गर्ने अवस्था निर्माणका लागिपरेका छौँ ।” त्यसका लागि सबैले आ–आफ्नो तहबाट सहयोगको आवश्यकता रहेको उनको भनाइ थियो । –रासस

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २१:५६
प्रतिक्रिया दिनुहोस्