Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सर्पहरू गीत सुन्दैनन्’ अङ्ग्रेजीमा

बुधबार, साउन १०, २०८०

काठमाडौँ– साहित्यकार शैलेन्द्र साकारद्वारा लिखित ‘सर्पहरू गीत सुन्दैनन्’ कवितासङ्ग्रहको अङ्ग्रेजी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको छ । 

निरङ्कुश पञ्चायती व्यवस्थाकालमा त्यसविरुद्ध लेखिएका नेपाली भाषाका केही कविता ‘सर्पेन्ट्स वन्ट लिसन टु योर संग्स’ शीर्षकमा अनूदित छन् ।
 
साकारकी धर्मपत्नी मञ्जुश्री श्रेष्ठले प्रकाशन गरेको कृतिमा २० कविता छन् जसको अनुवाद युयुत्सु शर्मा, मञ्जुश्री थापा, पदमप्रसाद देवकोटा, शैलेन्द्र सिंह, हरिश अधिकारी, अनुरक्त प्रधान, प्रमेश केसी र फिलिप पियर्सले गरेका हुन् । 

यसअघि उनका ‘शैलेन्द्र साकारका कविता’, ‘नाङ्गो तार’, ‘कवितामा अमेरिका’, ‘अमेरिका’ र ‘अरू सात समुद्र’ कवितासङ्ग्रह, ‘कोलाज’,  ‘कालपात्र र अरू कथाहरू’ र  ‘रामायण र अरू कथा’ कथासङ्ग्रह, ‘अवतार विघटन’ र ‘आकाश विभाजित छ’ उपन्यास ९संयुक्त लेखन०  र  ‘भोजपुरे हुलाकीका सन्तान’ संस्मरणात्मक कृति प्रकाशित छन् ।  पछिल्लो कृति उनको पहिलो अङ्ग्रेजी सङ्ग्रह हो । 

जनसार्क समन्वय मञ्च नेपालद्वारा आज आयोजित कार्यक्रममा बिसको दशकका कवि द्वारिका श्रेष्ठले साकार सुरुदेखि नै विद्रोही स्वभावका रहेको र उनका धेरै कवितामा त्यस्तै भाव रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तारानाथ लुइँटेलले कवितामार्फत परिवर्तन ल्याउन र मुलुक बनाउन सकिने विचार राखे । पूर्वराजदूतद्वय भीम उदास र पदम सुन्दासले साकार जस्ता शक्तिशाली कविको मूल्याङ्कन सरकारले गर्न नसकेकामा गुनासो गरे । 

अनुवादक शर्माले साकारसँग मिलेर आफूले ‘कथ्य कायाकल्प’ (कन्टेन्ट मेटामोर्फोसिस) जस्तो साहित्यिक आन्दोलन चलाएको जनाउँदै निरन्तर लेखिरहेका लेखनमा सहजता, सरलता, इमान्दारी पाइने बताए । भने साहित्यकार–पत्रकार श्रीॐ श्रेष्ठ रोदनले उनले नेपाल स्रष्टा समाज स्थापनाका साथै बुटपालिस आन्दोलन, सडक कविता क्रान्ति, अमलेख जमात आदिमार्फत नेपाली राजनीति र समाजलाई पथप्रदर्शनसमेत गरेको उल्लेख गरे । 

आयोजक मञ्चका महासचिव सन्तोषप्रसाद घिमिरे र कोषाध्यक्ष दीनदया रिजाल तथा पर्वतारोही आङदावा शेर्पाले साकार जस्ता अन्तरराष्ट्रिय साहित्यिक व्यक्तित्व कमै जन्मने बताए । कवि साकारले कवि–साहित्यकारले राजनीतिक आश्रय खोज्न नहुने र कसैको पिछलग्गु बन्न नहुने जनाउँदै नयाँ रचना सिर्जनु वा पुस्तक प्रकाशन हुनु भनेको लेखकको पुनर्जन्म नै हो भने ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्