भारतको दबाबमा चिनियाँ नाकामै रोकियो विस्फोटक पदार्थ

मंगलबार, साउन ९, २०८०

काठमाडाैँ - सडक तथा जलविद्युत् आयोजनाका लागि नेपाललाई आवश्यक पर्ने विस्फोटक पदार्थ आयातमा व्यवधान गरेको भारतले नेपालमा सञ्चालित आयोजनाबीच सापटी लिन–दिनसमेत अवरोध गरेको छ ।

भारतले जेठ तेस्रो साता सरकारलाई पठाएको पत्रमा आफ्नो देशबाट पैठारी हुने विस्फोटक पदार्थ जुन आयोजनाका लागि माग गरिएको हो, त्यसबाहेकमा प्रयोग गर्न नपाउने सर्त राखिएको छ ।

विस्फोटक पदार्थ आयातमा भारतले पटक–पटक व्यवधान खडा गरेपछि मन्त्रिपरिषद्ले गत वैशाख २६ मा विस्फोटक पदार्थ नियम–२०२० संशोधन गरी नेपालमा सञ्चालित अर्को परियोजनाबाट ‘सापटी लिएर पनि काम चलाउन सकिने’ व्यवस्था गरेको थियो ।

संशोधित नियम राजपत्रमा प्रकाशित भइसकेपछि पर्याप्त विस्फोटक पदार्थ रहेका आयोजनाबाट सापटीमा काम चलाउने प्रयास गरिएको थियो । त्यसमा आपत्ति जनाउँदै भारतले पत्राचार गरेर रोकिदिएको हो ।

परराष्ट्र मन्त्रालयका अधिकारीले विस्फोटक पदार्थ आयातका विषयमा भारतले सर्त राखेर पत्र पठाएको पुष्टि गरे । उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै बेला भारतबाट नेपाल सरकारलाई विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा पत्र आएको बताए ।

उक्त पत्रमा भारतले ‘अन्तर्राष्ट्रिय कानुन र प्रचलनअनुसार विस्फोटक पदार्थ प्रयोग हुनुपर्ने’ भन्दै सहज आयातमा व्यवधान गर्न खोजेको छ । ‘पत्रमा भारतले कुनै पनि आयोजना वा प्रयोजनका लागि विस्फोटक पदार्थ लिनुपर्दा सुरुआतमै इन्ड युजर सर्टिफिकेट (अन्तिम प्रयोगकर्ताको टुंगोसहितको प्रमाणपत्र) लिनुपर्ने उल्लेख छ,’ ती अधिकारीले भने, ‘पत्रमा उल्लेख भएअनुसार सर्त मान्ने हो भने विस्फोटक पदार्थ अन्य प्रयोजन वा आयोजनामा काम गर्न मिल्दैन ।’

भारतले विस्फोटक पदार्थ आयातको अनुमति (नो अब्जेक्सन सर्टिफिकेट) ६ महिनादेखि ठप्प पारेपछि विकल्पमा चीन गएका लगानीकर्ता पनि सरकारको नीतिका कारण समस्यामा परेका छन् ।

सरकारको असहयोगका कारण चीनबाट ल्याइएको विस्फोटक पदार्थ अहिले रसुवागढी भन्सारमा अलपत्र छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्