भद्रकुमारी सेवा सदन नभत्काउन काठमाडौं महानगरलाई अदालतको आदेश

बुधबार, साउन ३, २०८०

काठमाडौँ– उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश श्यामजी प्रधानको इजलासले आज उक्त घरजग्गामा क्षति नपुर्याउन काठमाडौँ महानगरपालिकाको नाममा आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “मिति २०८०।०४।०८ को पेशी तारिख तोकी सोको जानकारी विपक्षीलाई दिई उक्त निर्णयको छलफलबाट निर्णय नभएसम्म निवेदकको घरजग्गामा क्षति पुर्याउने वा अतिक्रमण गर्ने गराउने कार्य नगर्नु ।”

अदालतले उक्त विवादका दुवै पक्षलाई छलफलका लागि यही साउन ८ गते बोलाएको छ । साथै अदालतले १५ दिनभित्र लिखित जवाफसमेत पेस गर्न भनेको छ । महानगरपालिकाले उक्त भवन भत्काउन खोजेको थियो तर अदालतको आदेशपछि रोखिएको छ ।

आजै काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै सो स्थानमा रहेका संरचना भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्