प्रधान र आचार्यलाई हेमबहादुर मल्ल सम्मान

बुधबार, साउन ३, २०८०

काठमाडौँ– सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत गोरक्षबहादुर न्हुच्छें प्रधान र भानुप्रसाद आचार्यलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ । 

नेपाल जनप्रशासन सङ्घले आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरे । 

सम्मानको राशि जनही रु दुई लाख रहेको छ । प्रत्येक वर्ष प्रदान गरिने यो सम्मान कोभिड–१९ महामारीलगायतका कारण रोकिएको थियो । 

सम्मानित व्यक्तित्व प्रधानले करिब चारदशक सरकारी सेवामा बिताएका थिए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलगायत निकायमा काम गर्नुभएको थियो । प्रधान उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखको भूमिकामा पनि रहेका थिए ।

अर्का सम्मानित व्यक्तित्व आचार्यले महालेखा परीक्षक, महालेखा नियन्त्रक, अर्थसचिव, उद्योग सचिवलगायत भूमिका निर्वाह गरिसकेका छन् । 

सम्मान छनोटका लागि पूर्वगभर्नर एवं पूर्वसचिव दीपेन्द्रपुरुष ढकालको संयोजकत्वमा सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्टट्रेडिङ कर्पोरेसनका तत्कालीन अध्यक्ष कल्याणगोविन्द श्रेष्ठ, पूर्वसचिवद्वय पूर्णचन्द्र भट्टराई र यामकुमारी खतिवडा सदस्य रहेका थिए ।

हेमबहादुर मल्ल सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास र सूर्यनाथ उपाध्याय सम्मानित भइसकेका छन् ।

सङ्घ र साल्टट्रेडिङ कर्पोरेशनको समझदारीमा २०५९ सालमा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको थियो । पच्चीस वर्ष कर्पोरेसनको महाप्रबन्धकको जिम्मेवारीमा रहनुभएका इमान्दार, परिश्रमी, कर्तव्यनिष्ठ र हक्की स्वभावका धनी मल्ललाई ‘रोलमोडल’ प्रशासक÷व्यवस्थापकका रूपमा लिइन्छ । उहाँको स्मरणमा कर्पोरेसनको सौजन्यमा सङ्घले सम्मान स्थापना गरेको हो । –रासस

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्