अफ्रिकामा खडेरीका कारण २७ लाख मानिस विस्थापित 

सोमबार, साउन १, २०८०

अदिस अबाबा– संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ ।

क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएको जनाएको हो ।

डब्लुएफपीको प्रतिवेदनले तीन देशका खडेरी प्रभावित क्षेत्रमा लाखौं शरणार्थीको आगमनले यस क्षेत्रमा खाद्य असुरक्षा बढाएको उल्लेख गरेको छ । 

“सन् २०२० को अन्त्यदेखि लगातार सामान्यभन्दा कम वर्षा भएपछि ‘हर्न अफ अफ्रिका’ भनेर चिनिने सोमाली प्रायद्वीपमा व्यापक मौसमी खडेरी परेको छ, जसले कृषि, पशुधन, वनस्पति, जलस्रोत, जीविकोपार्जन र चरन स्रोतलाई प्रभावित पारेको छ,” डब्लुएफपीको प्रतिवेदनमा भनिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले उक्त क्षेत्रमा लामो समयदेखिको खडेरीका कारण दुई करोड ३४ लाख मानिस खाद्य असुरक्षामा परेको र ५१ लाख बालबालिका कुपोषित भएको अनुमान गरेको छ ।

यस वर्षको सुरुमा डब्लुएफपीले मार्चदेखि मे २०२३ को बीचमा अर्को खराब वर्षायामको घटनाले उक्त प्रायद्वीपका समुदायहरूमा विनाशकारी परिणामहरू ल्याउने चेतावनी दिएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्