तपोवनमा मेरा ५ दिन

शुक्रबार, असार १५, २०८०

घिल्लो साताको अन्तिमतिर तपोवन जाने निर्णय गरियो । धेरैको मुखबाट राम्रो हुन्छ भन्ने सुनेको तर त्यहाँ गएर नबसेकोले जान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । तर, जाने मौका जुरेको थिएन ।

जसोतसो गरेर मौका जुराइयो । अफिसदेखि घरपरिवारसम्मको कामको बन्दोबस्त मिलाएपछि तपोवन गएँ । र, तपोवन बस्दाको मेरो अनुभव सुनाउन मन लागेकोले यो ब्लग लेख्दैछु ।

No description available.

पहिलो दिन दिउँसो ४ बजेतिर तपोवन पुगियो । घुमघाम भयो । कोठामा सामान राखियो । पहिलो दिन नै कुण्डलिनी मेडिटेसन गरियो । त्यसपछि नुहाइधुवाइ गरेर खाना खाइयो । साढे ६ देखि ७ बजेसम्ममा बेलुकाको खाना खाइयो । खाना खाएर रुममा आएपछि बेलुका ८ बजे सेतो ड्रेस (आरतीको ड्रेस) लगाएर मुख्य हलमा गइयो । 

आरती सुरु हुनुअघि मिठा–मिठा भजनहरु सुनाइँदो रहेछ । ठूला–ठूला र गुणस्तरीय स्पिकर भएकोले सुन्दा आनन्द आउने रहेछ । भजन भइरहेको समयमा स्वामी आनन्द अरुण आउनुभयो । स्वामीले पनि भजनको आनन्द लिनुभयो ।

भजन सकिएपछि आरती भयो । आरती सकिएपछि आशोको आध्यात्मिक प्रवचन सुनियो । ओशो प्रवचनमा मानवजीवन र मानवीय कार्यका बारेमा व्याख्या गरिएको थियो । उहाँले कुनै ज्ञान प्राप्त भएको छ भने त्यो ज्ञान मर्दा पनि जाने तर भौतिक सम्पत्ति वा सुख भने छोडेर जानुपर्ने बताउनु भयो ।

त्यसपछि स्वामी आनन्द अरुणको संक्षिप्त प्रवचन सुरु भयो ।

पहिलो दिन हामी सुत्न जाँदा रातको १० बजेको थियो ।

No description available.

दोस्रो दिन । हाम्रो ध्यानको पहिलो दिन थियो । बिहान ५ बजेतिरै उठ्यौं । तर, ६ बजेर ५० मिनेट जाँदादेखिको सेड्युअल हामीलाई पहिला नै दिइएको थियो ।

हामी सबैजना तोकिएको समयमा नै हलमा पुगेका थियौं । हलमा मधुर स्वरमा भजन गुन्जिरहेको थियो । सबैजना हलमा पुगिसकेपछि भने डाइनामिक मेडिटेसनको म्युजिक सुरु भयो । करिब १ घण्टाको डाइनामिक मेडिटेसनमा १५ मिनेट जति स्वासप्रश्वासको प्राणायम, त्यसपछि मनको बह पोख्न कराउने, चिच्याउने गर्ने र त्यसपछि नाभी स्थानको एक्सरसाइज गर्ने काम गरिदो रहेछ । त्यसपछिको १० मिनेट भने शालिकजस्तो बनेर उभिनुपर्ने रहेछ । त्यसपछिको १० मिनेट जति रिल्याक्स मुडमा जान दिइन्छ । 

बिहान सबा ८ बजेदेखि प्राणायम र योगा सुरु हने रहेछ । त्यसमा प्राणायाम र योगाका विभिन्न स्टेपहरू सिकाउने गरिने रहेछ । साढे ९ बजेदेखि १ घण्टाको समय भने ब्रेकफास्टको लागि दिइने रहेछ । ब्रेकफास्टमा फलफूल, खिर, पुरी, हलुवाजस्ता खाना दिने गरिएको थियो ।

अपरान्ह साढे ११ बजेदेखि साढे १ घण्टासम्म मेडिटेसन हुन्छ । त्यसमा उठेर, नाचेर, बसेरजस्ता विभिन्न अवस्थाबाट मेडिटेसन गर्ने गराउने गरिँदो रहेछ । 

No description available.

अपरान्ह साढे १ बजेदेखि साढे २ बजेसम्मको समय भने लन्चका लागि दिइएको थियो । 

दिउँसो साढे ३ बजेदेखि १ घण्टाको लागि तेस्रो सेसनको मेडिटेसन सुरु हुने गरेको थियो । सो मेडिटेसनमा विभिन्न प्रकारका ध्यान गर्न सिकाइन्छ ।

दिउँसो ५ बजेदेखि एक घण्टासम्म कुण्डलिनी ध्यान गराइएको थियो । त्यसपछि नुहाउने र बेलुकाको खाना (डिनर) हुन्थ्यो । त्यसपछि ८ बजेदेखि साढे ९ बजेसम्म इभिनिङ सेलिब्रेसन (आरती) हुन्थ्यो ।

म ५ दिनका लागि तपोवन गएको थिएँ । प्रत्येक दिनको सेड्युल यही थियो । बेलुकाको आरती मलाई बेग्लै आनन्दको अनुभूति भएको थियो । र, कुण्डलिनी ध्यान वास्तवमै ध्यान केन्द्रित गराउने प्रकारको थियो । डाइनामिक मेडिटेसनले पहिलो १–२ दिन त बेकारमै आएछु भन्नेजस्तो गरी गाह्रो भएको थियो । तर, पछि बानी पर्दै गएपछि भने रमाइलो हुँदै गएको थियो ।

No description available.

तपोवनको बसाइ एक अलौकिक अनुभूतिजस्तो भयो । स्वच्छ हावापानी, चराचुरुङ्गीको चिरबिर चिरबिर । नो हो–हल्ला । सबै हाँसीखुसी, सबै रमाइला मान्छे । कोही हतारमा देखिएनन् । बढी फुर्सद कसैलाई थिएन । गृहस्थी जीवनको ५ दिन सांसारिक मोहजाल, सञ्जाल र बन्दनबाट टाढा रहदाको त्यो समय वास्तबमै आफ्ना लागि जिएको समयजस्तो लाग्यो । 

प्रत्येक दिन तपोवनमा आउने र जानेहरू हुने रहेछन् । अर्थात्, प्रत्येक दिन नयाँ अनुहार पनि हुन सक्ने भए । तर, त्यहाँ भएका कोही पनि नयाँ र कोही पनि पुराना लाग्ने रहेनछ । किनभने, तपोवनमा प्रवेश गरेपछि सबै मान्छेहरू तपोवनमा बस्ने मान्छेजस्तै भएर जाँदा रहेछन् । फर्कदा कस्तो भएर फर्कन्छन् त ? सायद, बाइपासबाट काठमाडौतिर लागेपछि तपोवन बिर्सन्छन् होला ! 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्