नेभिगेशन
समाचार

सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक सबै संकटमा : ओली

चितवन - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको आरोप लगाएका छन् ।

असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन आएका एमाले अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताए ।

अहिलेको आर्थिक संकटपूर्ण अवस्था कहिलेसम्म कायम रहला भनेर युवा उद्यमीहरुले राखेको जिज्ञासामा अध्यक्ष ओलीले अहिलेको सरकारको आर्थिक अनुशासन नभएकाले सरकार रहेसम्म संकट रहिरहने बताए ।

उद्योगी व्यवसायीहरु संकटमा पर्दै जाने तर एमाले टुलुटुलु हेरेर मात्रै बसिरहन नसक्ने भन्दै ओलीले त्यसका लागि पार्टीले जिम्मेवार भूमिका खेल्ने बताए। उनले भने ‘किन आर्थिक संकटपूर्ण अवस्था आउन खोज्यो भन्दा सरकारको गलत नीति छ, अनुशासन भएन। अहिलेको सरकारको तस्वीर देखेपछि पुग्छ, यो समस्या कहिले टुंगिएला भनेर।’

बैंकहरूको गलत नीति र रवैयाले पनि उद्योगीहरुलाई संकटमा परेको भन्दै ओलीले त्यसलाई सच्चाउन जरुरी रहेको बताए । ‘ऋण लिएर कुनै काम गर्न पाएको छैन, ब्याज र किस्ता माग्न सुरु गर्छ, जसले बैंक चलाइदिएको छ, तोकेको ब्याज दिएको छ, उसैलाई दुःख दिएको छ, जुन प्रयोजनका लागि ऋण दिएको हो, त्यसको रिटर्न नभइञ्जेलसम्म त कसरी उसले ब्याज किस्ता तिर्न सक्छ ?’ ओलीले भने, ‘किसान वा उद्यमीलाई धरौटी राख्ने नीति नै ठिक छैन, प्रोजेक्ट हेरेर लोन दिने हो, कम्तीमा पनि लोनको अवधि १०/१२ वर्ष बनाउनुपर्छ ।’

ठूला हाइड्रोपावर, राष्ट्रिय राजमार्ग विस्तार, विभिन्न करिडोर र औद्योगिक क्षेत्र स्थापना, पालिकामा अस्पतालहरु जस्ता महत्वपूर्ण संरचनाहरुको काम आफू सरकारमा हुँदा थालेको दाबी गर्दै ओलीले त्यसपछिका सरकारले कुनै ठोस नयाँ पूर्वाधार विकासमा काम गर्न नसकेको आरोप लगाए ।

रोजगारी दिने ठाउँ भनेको सरकारी जागिर जस्तो मात्रै भएको भन्दै ओलीले लाखौंलाई देश भित्र नै रोजगारी सिर्जना गर्नका लागि उद्योगहरु खोल्नुपर्ने र राज्यले त्यसमा सहजीकरण गर्नेपर्ने धारणा राखे । युवा उद्यमीहरुलाई कानुनी रुपमा परेका समस्याहरु लिखित रुपमा दिन आह्वान गर्दै ओलीले त्यसका लागि आफूले जतिसुकै बेला पनि साथ दिन र सहयोग गर्न तयार भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार