भ्रष्ट, दूर्व्यसनी, जडबुद्धी तानाशाह र हिन्दू धर्म जोडिएको छ भने मलाई ‘हिन्दू राष्ट्र’ चाहिएन

आइतबार, जेठ २१, २०८०

हालै सार्बजनिक भएको जनगणनाको तथ्यांक अनुसार नेपालमा सनातनी ओमकार परिवार (हिन्दू, बौद्ध र किँरात) को संख्या कूल जनसंख्याको ९२ प्रतिशत भन्दा बढी रहेछ।

यो अवस्थामा नेपालको संबिधानमा 'नेपाल सनातनी बहुल राष्ट्र हो' भन्ने सम्म लेखिँदा के ठूलै अन्याय हुन्छ?? नेपाल 'धर्म निरपेक्ष' हुँदा पनि सनातन बहुल त हो नि! धर्म निरपेक्ष हुनुपर्ने कि नपर्ने? कि पंथ निरपेक्ष हुनुपर्ने? बहस गर्दै गरौं!! 'सनातन बहुल' त निर्बिबाद सत्य हो! त्यति सम्म पनि संबिधानमा अंगिकार गर्न किन गाह्रो?

मलाई थाहा छ - हिन्दू राष्ट्र वा सनातनी राष्ट्रका कुरा छोडौं, 'सनातनी बहुल'सम्म पनि लेखाउन सकिन्न। सायद म पनि 'निरपेक्ष' हुन पुग्छु र 'चुप लाग्नु' नै बेस भन्न थाल्दछु!! किन????

हिन्दू राष्ट्र, सनातनी राष्ट्र वा यसलाई बल पुग्ने अन्य कुनै आवाज अलि दह्रो रूपमा उठ्यो भने 'हाम्रो राजा, हाम्रो देश, एउटै भाषा एउटै भेष' मार्का दौरा राष्ट्रबादीहरू 'राजतन्त्र' र 'हाम्रा प्राणप्रिय सरकार' भन्दै उफ्रिन थाल्दछन्!! अनि म जस्तालाई लाग्छ - कुनै भ्रष्ट, दूर्ब्यसनी, जडबुद्धी तानाशाह र हिन्दू धर्म जोडिएको छ भने र अनि हिन्दू भन्ने बित्तिकै यस्ता कूलको सर्बोच्चता स्थापित हुन्छ भने मलाई 'हिन्दू राष्ट्र' चाहिएन!!

तर के साँच्चिकै सनातन हिन्दु धर्म र यी कथित 'धर्मध्वजरक्षक'हरू एकअर्कासंग गाँस्सिएका छन् त? दाहससंस्कारका लागि मसानमा ल्याईएका मृत ब्यक्तिबाट कर उठाउनुपर्ने आफ्नो कर्तब्यका सामू आफ्नै छोराको शब ल्याइँदा समेत अबिचलित रहने सत्यबादी राजा हरिश्चन्द्र एउटा राजा थिए भने यी 'राजा' भनाउँदा त आफ्ना जायज नाजायज सबै सन्तानको सुख शयलका लागि समेत राज्यको सम्पति र भुमि हडप्थे!! आफ्नी रानी पुरै स्वच्छ र कञ्चन छिन् भन्ने थाहा पाउँदा पाउँदै पनि प्रजारञ्जन नै मेरो एकमात्र कर्तब्य हो र जनमतको प्रवाह बिपरित जान सक्दिन भन्ने सोच्दै पत्नी सीताको त्याग गर्ने कतब्यपरायण राजा रामसंग सिधै दूर्ब्यसनी हत्यारा हो भनेर थाहा पाउँदा पाउँदै पनि पुत्र/भतिजो पारस शाहलाई जोगाउने प्रपंच रच्ने मात्र होइन युवराज नै बनाउने ब्यक्ति वा बंशको तुलना गर्न मिल्ला??

आफ्ना नौजना पुत्र हुँदा हुँदै पनि यी मध्ये कुनैपनि राजगद्दी सम्हाल्न सक्षम र योग्य छैनन् भन्ने निर्णय गरेर भारद्वाज ऋषिका पुत्रलाई राजगद्दी सुम्पिने राजा भरतको तुलना यी 'राजा' संग गर्न सकिन्छ?

सनातन धर्मले राजालाई बिष्णुको अवतार वा अंश मानेको पक्कै हो। तर त्यो बिष्णुको अंश राजा हरिश्चन्द्र, राजा राम र राजा भरतमा थियो!! यी बर्तमान 'राष्ट्रबादी' का राजाले त सनातनी बिश्वासका शब्द मात्र टिपेर आफ्नो मनपरीतन्त्र कायम राख्न धर्मलाई प्रयोग गरेका मात्र हुन् र यी आडम्बरी थिए र हुन् !!

म वा मजस्ता ब्यक्तिलाई हिन्दुराष्ट्र र राजतन्त्र भनेर कोही लिङ्ग्देन वा शाही चिच्याउन थाल्ने बित्तिकै बितृष्णा मात्र होइन घृणा नै लाग्न थाल्छ। सनातन हिन्दु संस्कारसंग अगाध श्रद्धा हुँदाहुँदै पनि म निरपेक्ष हुन बाध्य हुन्छु!! बिश्वास गर्नोस् - सनातन वा हिन्दूराष्ट्र अभियानलाई कमजोर पार्ने सबैभन्दा डरलाग्दा तत्व यी राजाबादी भनाउँदा नै हुन् !!!

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्