‘ए’ डिभिजन लिग फुटबल

सातदोबाटोसँग आर्मी पराजित, थ्री स्टार र एपीएफले बराबरीमा अंक बाँडे

शनिबार, जेठ २०, २०८०

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । 

शनिबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ६३ औं मिनेटमा दिपेन्कले पेनाल्टी मार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ । समान खेल खेलेको आमीको ३० अंक रहेको छ ।

त्यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार र एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।  

थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणि कुमार लामाले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औं मिनेटमा सब्सिच्युड खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ  । एपीएफले पनि २४ खेलमा ३० अंक जोडेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्