अष्ट्रेलियामा १० करोड ७० लाख वर्ष पुराना हड्डी भेटिए

बिहीबार, जेठ १८, २०८०

सिड्नी– अष्ट्रेलियामा १० करोड ७० लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त जानकारी दिएका हुन् । 

८० को दशकमा भेटिएका ती जीवाश्म हड्डी आकाशमा उड्ने विशाल सरीसृपको भएको र तिनको उत्पत्ति १० करोड ७० लाख वर्षअघि भएको बताएका छन् ।

हिस्टोरिकल बायोलोजी जर्नलमा मङ्लगलबार प्रकाशित एक अध्ययनअनुसार कर्टिन युनिभर्सिटी अस्ट्रेलियन एज अफ डाइनोसर म्युजियम अफ नेचुरल हिस्ट्री, मोनाश युनिभर्सिटी र म्युजियम्स भिक्टोरिया रिसर्च इन्स्टिच्युटका अन्वेषकहरूले भिक्टोरियमा भेटिएका जीवाश्म टेरोसरको भएको पुष्टि गरेका छन् । 

‘यी हड्डीहरूको विश्लेषण गरेर, हामी लगभग १० करोड ७० लाख वर्ष पहिले भिक्टोरियाको जङ्गलमा बसोबास गर्ने टेरोसरको अस्तित्वको पुष्टि गर्न सक्षम भएका छौं,’ पेन्टल्याण्डले जर्नलमा उल्लेख गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्