नेभिगेशन
विश्व

ट्रम्पको चेतावनी- तेहरान तुरुन्तै खाली गर्नुपर्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान तुरुन्त खाली गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति ट्रम्पले इजरायलको आक्रमणको समर्थन गर्दै तेहरान तुरुन्त खाली गर्नु पर्ने बताएका हुन् ।

उनले लेखेका छन्- 'इरानले मैले उनीहरूलाई हस्ताक्षर गर्न भनेको 'सम्झौता' मा हस्ताक्षर गर्नुपर्थ्यो। मानिसहरू मारिनु कति लाजमर्दो कुरा हो । स्पष्ट रूपमा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन । मैले यो बारम्बार भनेको छु । सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ ।'


यो पोस्ट गर्नु अघि ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग भेटघाट गरेका थिए ।

बैठकको सुरुमा ट्रम्पले इरानसँग आणविक सम्झौता अझै पनि हुन सक्ने आफुलाई लागेको बताएका थिए । उनले भनेका थिए- 'इजरायलले धेरै राम्रो गरिरहेको छ, तपाईंलाई थाहा छ । मैले इरानलाई ६० दिनको समय दिएको थिए । ६१औं दिनमा के भयो तपाईंले देख्नुभयो । मलाई लाग्छ सम्झौता हुनेछ । इरानले यसमा हस्ताक्षर नगर्नु मूर्खता हुनेछ ।'


यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक अन्तर्वार्तामा इरानका सर्वोच्च नेता खामेनीलाई लक्षित गर्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन् । एबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा नेतान्याहूले भने- 'हामी जे गर्नुपर्छ त्यो गरिरहेका छौं । म विस्तृतमा जाँदिन, तर हामीले उनीहरूका शीर्ष आणविक वैज्ञानिकहरूलाई लक्षित गरेका छौं । यो वास्तवमा हिटलरको आणविक टोली हो ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व