नेभिगेशन
विश्व

भारत आउदै गरेका दुई बोइङ ड्रीमलाइनर विमान बिच बाटोबाट फर्किए !

काठमाडौँ । आइतबार भारत आउँदै गरेका दुई बोइङ ड्रीमलाइनर विमान उडान भरेपछि बीच बाटोमै विमानस्थलमा फर्किएका छन् ।  एउटा उडान लन्डनबाट चेन्नई आउँदै थियो भने अर्को फ्र्याङ्कफर्टबाट हैदराबाद आउँदै थियो । दुवै सोमबार अवतरण गर्ने तालिका थियो।

लन्डनबाट चेन्नई आउँदै गरेको ब्रिटिश एयरवेजको विमान बोइङ ७८७-८ ड्रीमलाइनर थियो । त्यसैगरी फ्र्याङ्कफर्ट (जर्मनी) बाट हैदराबाद आउँदै गरेको लुफ्थान्सा (एयरलाइन) को विमान बोइङ ७८७-९ ड्रीमलाइनर थियो ।

यो घटना अहमदाबादमा एयर इन्डियाको बोइङ ड्रीमलाइनर दुर्घटना भएको केही दिनपछि भएको हो । 

ब्रिटिश एयरवेजले लन्डनबाट चेन्नई आउँदै गरेको उडान अवतरण गर्नुअघि उडान भर्ने समय, यात्रु र चालक दलको संख्या र विमान हावामा रहेको समय खुलाएको छैन । लाइभ फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार, ब्रिटिश एयरवेजको उडान बिए ३५ सोमबार बिहान ३:४५ बजे चेन्नई पुग्ने तालिका रहेको थियो । दिउँसो १.१६ बजे उडान भरेको यो विमान विमानस्थल फर्कनु अघि लगभग दुई घण्टा उडेको थियो । वेबसाइटका अनुसार, विमानस्थल फर्कनु अघि उडान धेरै होल्डिङ ढाँचामा रहेको उल्लेख छ ।

त्यस्तै आइतबार नै फ्र्याङ्कफर्टबाट भारतको हैदराबाद जाने लुफ्थान्साको उडान पुन: फ्र्याङ्कफर्ट फर्किएको छ । यद्यपि, यसको कारण खुलाइएको छैन । हैदराबादको राजीव गान्धी विमानस्थलमा रहेको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले जर्मनीबाट उडान भरेको केही समयपछि विमान फ्र्याङ्कफर्ट फर्किरहेको सन्देश प्राप्त गरेको उल्लेख छ । यो विमान सोमबार बिहान ६: १५ बजे हैदराबादमा अवतरण गर्ने तालिका रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व