नेभिगेशन
विश्व

हरियो सैनिक ड्रेससँगै बिछ्यौनाको रौनकः शक्तिशाली गद्दाफी को थिए अनि कसरी मारिए?

‘दि ब्रदर लिडर’, ‘गाइड अफ दिन रिभोलुसन’ र ‘किङ् अफ दि किङ्’ का रूपमा आफैंलाई मान्ने राष्ट्र प्रमुखका कस्ता थिए सौख?

काठमाडौं– सन् २०११ पछाडिको पुस्ताले कर्णल मुअम्मर गद्दाफीका विषयमा कमै जानकारी राखेको हुनुपर्छ। 

लिवियाका शासक गद्दाफीको उदय रोचक छ। उनको सैन्य शान र ताकत अनि अंगरक्षकका भित्री र बाहिरी कहानी पनि भयानक छन्। 

गद्दाफीको उदय र अन्त्यअघि उनकी एक अंगरक्षकको बयानबाट मुद्दा उठान गरौं। 

लैला! एक अंगरक्षक सैन्य अधिकारी थिइन्।

‘ऊ मलाई साहसी भन्थ्यो। तर, म आफूलाई कहिल्यै साहसी ठान्न सकिनँ—किनभने म बाँच्न मात्र खोजिरहेकी थिएँ’, लैला भन्छिन्।

उनको अगाडिको बयान–
जब म १९ वर्षकी थिएँ, मलाई कलेजबाटै ‘राष्ट्रसेवाको लागि छनोट’ गरिएको भनियो। हरियो सैनिक ड्रेस, चम्किला बुट, अनुहारभर श्रृंगार—हामीलाई ‘अमेजोनियन गार्ड’ बनाइएको थियो। 

देशभित्र र बाहिर सबैले हामीलाई गद्दाफीका शक्तिशाली अंगरक्षक ठान्थे। तर त्यो केवल पर्दा थियो, जुन पर्दाभित्रको गन्ध बाँच्नेहरूले मात्र महसुस गर्थे।

गद्दाफीको दरबार प्रवेश गर्नु भनेको भव्यता होइन, एउटा बन्द कोठामा थुनिनु थियो। उ आफ्नो सुरक्षाको बहानामा हामीलाई सँगै राख्थ्यो। तर हाम्रो ड्युटी केवल उसका अंग जोगाउनु थिएन, उसकै बिछ्यौनामा बाँचिरहनु थियो। सुरुमा डर लाग्थ्यो, पछि त्यो डर बानीजस्तो बन्यो। जब उनले मलाई बलात्कार गरे, उनले मसँग भने,‘तिमी अब मेरा लागि मात्र हो।’

मैले त्यो रात आफैंलाई लाखपल्ट माफ गराएँ। म भाग्न सकिनँ, चिच्याउन सकिनँ, प्रतिकार गर्न सकिनँ। अनि अर्को दिन मलाई सार्वजनिक कार्यक्रममा पहिलो लाइनमा राखियो।

सार्वजनिक अनुहार बनाइयो, मलाई शक्तिको प्रतीक भनियो। त्यो विडम्बना थियो, म भित्रभित्रै टुक्रिइरहेकी थिएँ।

हामीले महँगा गहना लगायौं, विदेशी भ्रमण गर्यौं, महलजस्ता कोठामा बस्यौं। तर त्यो सबै केवल स्वर्ण पिंजडा थियो। 

हामीलाई हरेक हप्ता ‘शरीरिक परीक्षण’ गरिन्थ्यो, जसको बहानामा हाम्रो गोप्य शरीर जाँचिन्थ्यो। कहिलेकाहीं हामीसँग आएका डाक्टरहरूसमेत उसका विश्वासपात्र हुन्थे। हामी भाग्न सक्दैनथ्यौं, किनभने सबै गेट गद्दाफीको मनले बन्द गरेका हुन्थे।

एक दिन मेरी साथी नूरा, जसले गद्दाफीका अनेक ‘सेवा’ सहिसकेकी थिई, आफ्नो जिन्दगीको अन्त्य गरिन्। उसले न त आत्महत्या नोट छाडिन्, न विरोधको स्वर। तर हामीले बुझ्यौं ऊ बाँचेकी थिइनन्, केवल सहेर गएकी थिइन्। त्यसपछि हामीले बिस्तारै एक–अर्काको आँखाभित्र डर पढ्न सिक्यौं।

गद्दाफीको पतनपछि मैले पहिलोपटक खुलेर रोएको थिएँ। मेरो कथा, नूराको कथा, सयौं साथीको कथा अब चुप लाग्न सक्दैन। हामी सौखिन अंगरक्षक होइनौं, हामी राजनीतिक यौन दास थियौं जसको सौन्दर्यलाई अस्त्र बनाइएको थियो।

कर्णेल मुअम्मर गद्दाफीले आफ्ना सुरक्षाको लागि महिलाहरूको एक विशेष दस्ताको स्थापना गरेका थिए, जसलाई ‘अमेजोनियन गाड्र्स’ भनिन्थ्यो। 

यिनीहरूलाई अत्यन्त सौखिन, शक्तिशाली र विश्वसनीय सुरक्षाकर्मीका रूपमा प्रस्तुत गरिन्थ्यो। यद्यपि यो बाह्य प्रदर्शनको आडमा ती महिलाहरू एक निरंकुश शासकको यौनिक नियन्त्रण र मानसिक दमनको शिकार थिए भन्ने तथ्यहरु पछि खुलेका छन्।

यी महिला अंगरक्षकहरूलाई विशेष पोशाकमा सजाएर सार्वजनिक कार्यक्रममा गद्दाफीसँगै देखाइन्थ्यो। उनीहरू सेनाको अनुशासनमा हुन्थे, तर अनुशासनभन्दा बढी गद्दाफीको व्यक्तिगत इच्छाका अधीनमा बस्थे। 

उच्च हील, जङ्गी ड्रेस, गहना र श्रृंगारयुक्त अनुहारले उनीहरूलाई भडकिलो बनाइन्थ्यो, जसले ‘राजनीतिक शक्ति पनि सौन्दर्यमार्फत प्रकट हुन सक्छ’ भन्ने सन्देश दिन्थ्यो। 

पश्चिमी मिडियाले तिनलाई ‘ग्ल्यामरस बडीगाड्र्स’ को रूपमा चासोका साथ प्रस्तुत गर्दै आएको थियो। 

तर, यो सौखिनता उनीहरूको आत्मसम्मानको रक्षा थिएन। फ्रान्सेली पत्रकार एनिक कोएजानद्वारा लेखिएको पुस्तक ‘गद्दाफीज हरेम’मा महिला अंगरक्षकहरूकै कथनहरू समावेश गरिएका छन्, जसअनुसार तिनीहरूलाई चयनपूर्व कुमारित्व परीक्षण गरिन्थ्यो। 

जबरजस्ती गद्दाफीको सेवा गर्न बाध्य बनाइन्थ्यो, र विरोध गरे यातना दिइन्थ्यो। केहीलाई महिनौंसम्म बन्धक बनाएर बलात्कार गरिन्थ्यो, यौन हिंसापछि पनि उनीहरूलाई राष्ट्रिय सुरक्षाकर्मीको रूपमा काम गर्न बाध्य बनाइन्थ्यो।

गद्दाफीले यी अंगरक्षकहरूलाई ‘सामाजिक क्रान्तिको प्रतीक’ भन्दै प्रचार गरे। उनले भनेका थिए कि ‘महिलालाई पुरुषसरह लड्न सक्ने बनाउनु क्रान्तिको उपलब्धि हो।’ 

वास्तवमा, उनले महिलाहरूको शक्ति होइन, उनीहरूको शरीरलाई राजनीतिक छायामा प्रयोग गरेका थिए। गहना, विदेशी भ्रमण, महँगा गाडी, विशेष कोठा जस्ता सुविधा दिइए पनि, ती सबै उनका कृपाको स्वरूप मात्र थिए, स्वतन्त्रता होइन।

सन् १९९८ मा एक अंगरक्षकले गद्दाफीको प्राण बचाउन गोली खाएर मरेकी थिइन्। उनलाई ‘शहीद’ भनियो तर उनका साथीहरूले पछि खुलासा गरे कि उनी बलात्कृत थिइन् र आत्महत्या गर्ने नजिक थिइन्। 

गद्दाफीको शासन पतनपछि कतिपय महिलाहरूले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना पीडाका कथाहरू सुनाए, जसले यस्ता सौखिन अंगरक्षकहरूको जीवन भित्रको पीडा उजागर गरेको थियो। 

यसरी, गद्दाफीका महिला अंगरक्षकहरूको जीवन दोहोरो थियो। बाहिर देखिने सौख, आकर्षण र शक्ति; तर भित्रभित्रै यौन दमन, नियन्त्रण र निरन्तर मानसिक हिंसा हुने गरेको पछि खुल्यो। उनीहरूको सौखिन जीवन एक राजनीतिक अभिनय थियो, जुन वास्तवमा एउटा ‘सेक्सुअल अपरेसन मेकानिज्म’को हिस्साजस्तै देखिन्थ्यो।

को थिए गद्दाफी?
कर्णेल मुअम्मर गद्दाफी ७ जुन १९४२मा लिबियाको सिर्तमा जन्मेका थिए। उनले लिबियाको सवाहबाट प्रारम्भिक शिक्षा लिएका थिए।

उनी इजिप्टका राष्ट्रप्रमुख गमाल अब्दुल नासिरबाट प्रभावित थिए। सन् १९५२मा प्यालेसटाइनको पक्ष लिएर सुइज क्राइसिसको वेलामा इजरायल विरोधी आन्दोलनमा सहभागी भएका उनी सन् १९६१मा बेंघाजीस्थित लिबियाली सैनिक एकेडेमीमा अध्ययनका लागि भर्ना भए। 

सो एकेडेमीबाट उनले १९६६मा स्नातक सकेका थिए। उनले बेलायतबाट चार महिने सैन्य तालिम पनि लिए। त्यसपछि गद्दाफी कमिसन्ड अफिसरका रूपमा सेनामा प्रवेश गरेका हुन्।

कर्णेल गद्दाफीले सैन्य शक्तिको प्रयोग गरी सन् १९६९मा सत्ता हत्याउन सफल भएका थिए। उनी सन् १९००को दशकपछि अरब क्षेत्रकै सबैभन्दा धेरै समय शासन गर्ने चौथो शासकका रूपमा चिनिएका थिए। 

सन् १९६९मा सत्ता हत्याएपछि उनले त्यहाँको संविधान अन्त्यको घोषणा गर्दै नयाँ कानुन देशमा ल्याए, जसलाई दि इन्टरनेसनल थ्योरी भनियो।

गद्दाफीले ‘दि ग्रिन बुक’ नामक पुस्तक पनि प्रकाशन गरेका छन्। उनले आफूलाई ‘दि ब्रदर लिडर’, ‘गाइड अफ दिन रिभोलुसन’ र ‘किङ् अफ दि किङ्’ का रूपमा मान्थे। उनको शासनकालमा लिबियाका जनताको प्रतिव्यक्ति आयमा समेत उल्लेख्य वृद्धि भयो।

सन् २०११मा मध्यपूर्वका अन्य छिमेकी देशहरू इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा सरकारविरोधी प्रदर्शन भएसँगै लिबियामा पनि सरकारविरोधी आन्दोलन चर्केको थियो। 

सो प्रदर्शनलाई फ्रान्स, अमेरिका र बेलायतसहितका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको समर्थन र सहयोग रह्यो। नेटो गठबन्धनको सेनालाई लिबिया आक्रमणमा खटाइयो। निरन्तर नेटो गठबन्धनले आक्रमण गर्दै गद्दाफीको शासनलाई कमजोर पार्दै लग्यो। गद्दाफीको गृहनगर सिर्तमा भएकै आक्रमणमा उनी मारिए।

गद्दाफी सानैदेखि षड्यन्त्रमूलक योजना बनाउन खप्पिस थिए। उनले मिलिटरी कलेज पढ्दैदेखि राजतन्त्र फ्याल्ने योजना बनाएका थिए। १९६९ सेप्टेम्बर १ मा गद्दाफीले नेतृत्व गरेको सेनाका कनिष्ठ अधिकारीहरूले सानो समूहले राजा इद्रिसविरुद्ध रक्तपात विहीन ‘कु’ गरेको थियो। त्यतिबेला राजा इद्रिस उपचारका क्रममा टर्कीमा थिए।

निमित्त शासनभार सम्हालेका राजाका भतिजा राजकुमार सायिद हसन अर रिदा अल महदी अस सनुस्सीलाई आन्दोलनकारीले सत्ताच्यूतका साथै नजरबन्द गरे। र, राजतन्त्र अन्त्य भएको र लिबियन अरब रिपब्लिकको घोषणा गरे। त्यसपछि पातला शरीरका २७ वर्षीय गद्दाफीले शासन सम्हाले। 

सफारी सुट र ‘सनग्लास’ मा सजिने उनलाई त्यस युगको ‘चे ग्वेभारा’ भनियो। त्यसपछि ‘पश्चिमा साम्राज्यवाद’विरुद्ध आवज उठाउने समूहहरूका लागि लिबिया र्ऊवर भूमि बन्यो। 

देशमा शासन चलाउनका लागि ‘रेभोलुसनरी कमान्ड काउन्सिल’ गठन गरियो, गद्दाफी त्यसको अध्यक्ष बने। उनले आफूलाई १९७० मा प्रधानमन्त्री समेत घोषणा गरे, जुन १९७२ मा त्यागे। उल्लेखनीय कुरा के छ भने अन्य सैन्य तानाशाहजस्तो गद्दाफीले शासन आफ्नो हातमा लिएपछि आफूलाई जनरल बनाएनन्। ‘सेरेमोनियल प्रोमोसन’ का रूपमा आफूलाई क्याप्टेनबाट कर्णेल बनाए। 

जीवनभर उनी कर्णेल गद्दाफी नामले चर्चित रहे। अन्य देशको चलनचल्ती विपरीत कर्णेल टाइटल लिएका गद्दाफी नै लिबियामा सेनाका ‘कमान्डर इन चिफ’ पनि थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व