कोसी प्रदेश नामकरण विवाद

कोसी प्रदेश सरकारले पहिचान पक्षधरलाई वार्तामा बोलायो

मंगलबार, जेठ १६, २०८०

विराटनगर– प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोसी प्रदेश सरकारले औपचारिक आह्वान गरेको छ। 

आज प्रदेश सरकारका तर्फबाट प्रवक्ता एवं उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले विज्ञप्तिमार्फत आन्दोलनरत पक्षलाई आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेका हुन्। 

गत फागुन १७ गते प्रदेश १ को नाम कोसी राखिएको थियो । प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले पारित गरेको नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन गर्दै आइरहेका छन् । लामो समयदेखि आन्दोलन गरिरहेको पहिचान पक्षधरलाई सरकारले पहिलोपटक औपचारिक हिसाबले वार्तामा बोलाएको हो ।

प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण रूपमा राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्वद्ध पक्षलाई कोसी प्रदेश सरकार आह्वान गर्दछ ।’  

विज्ञप्ति जारी गर्दै सरकारका प्रवक्ता सिटौलाले भनेका छन्, ‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ ।’

pahichan_barta_bigyapti1685459599.jpg

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्