Nic Ad Nic Ad
Nic Ad Nic Ad

ढाकाकुमारको गुनासो– मसँग कुरै नगरी ३ करोड बुझाएको समाचार बनाइयो

शुक्रबार, जेठ १२, २०८०

काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रकम माग गरेको अडियो प्रकरणपछि सांसद र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठले आफूसँग कुरै नगरी ३ करोड रुपैयाँ बुझाएको समाचार बनाइएको भन्दै आपत्ति जनाएका छन् । 

सांसद बन्न आफूले रास्वपाको कोर टिमलाई ३ करोड बुझाएको भनेर प्रकाशित समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

हालै एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफूसँग कुरा नै नगरी सञ्चारमाध्यमले समाचार बनाएको र उक्त समाचार शतप्रतिशत झुटो, कपोलकल्पित र आधारहीन भएको बताएका छन् । उनले चरित्रहत्याको श्रृंखला जारी राखेमा कानुनी उपचारमा जाने चेतावनीसमेत दिएका छन् ।

कारबाहीमा परेका श्रेष्ठलाई ‘कोट’ गरेर ‘समानुपातिक सांसद बन्न पार्टीका उपाध्यक्ष डोरप्रसाद अर्याल र महामन्त्री मुकुल ढकाललाई ३ करोड रूपैयाँ बुझाएको हुँ’ भन्ने बेहोराका समाचार एक अनलाइनले प्रकाशित गरेको थियो । यस प्रकरण प्रतिनिधिसभामा समेत प्रवेश गरेको थियो ।

‘केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न ३ करोड रूपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोधसमेत नगरी तथा मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’

श्रेष्ठले आधारहीन समाचार सम्प्रषण नगर्न समेत ध्यानाकर्षण गराउँदै अन्यथा कानुनी उपचारमा जाने चेतावनीसमेत दिएका छन् ।

‘स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैं कानुनी प्रक्रियामा जान बाध्य हुनेछु,’ उनको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्