राष्ट्रिय ललितकला प्रदर्शनी : यसपटक ६ सय ९५ सिर्जना समावेश

बिहीबार, जेठ ११, २०८०

काठमाडौँ– 'राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का अवसरमा यसपटक छ सय नौ कलाकारका छ सय ९५ चित्र (सिर्जना) समावेश हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका अनुसार यही जेठ १५ गतेदेखि सुरु हुने प्रदर्शनीका लागि दर्ता भएका छ सय ५३ कलाकारका सात सय ५५ वटा चित्रमध्ये ४४ कलाकारका ६० चित्र छनोटमा नपरेको जनाइएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विगत १२ वर्षमै यस वर्ष सबैभन्दा बढी सिर्जना प्रदर्शनीका लागि छनोट भएको जानकारी दिए ।

प्रदर्शनी जेठ १५ गतेदेखि ३० गतेसम्म प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा हुनेछ । उद्घाटन समारोह भने प्रतिष्ठानमा नै हुनेछ ।

गत वर्षको प्रदर्शनीमा भने तीन सय ६५ कलाकारका चार सय २६ कलाकृति दर्ता भएकामा तीन सय ४१ कलाकारका तीन सय ८९ कलाकृति मात्रै प्रदर्शनीका लागि छनोट भएका थिए । यसपालि भने झण्डै दोब्बर कलाकृति समावेश गरिने भएको छ । विसं २०७२ मा साँच सय ६३ कला समावेश गरिएको र अन्य वर्ष पाँच सय ५० भन्दा तल नै सिर्जना समावेश भएका थिए । यसपटक भने झण्डै सात सय सिर्जना समावेश हुने प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले नियमित पुरस्कार तथा सम्मानसहित यस वर्षदेखि कला प्रवर्द्धन सम्मान तथा प्रदर्शनीको सद्भावनादूतका रूपमा अनिल चित्रकारलाई सम्मान गरिने जनाएको छ । विगतमा वैशाख २ गते गर्ने गरिएको यस प्रदर्शनी यस वर्ष गणतन्त्र दिवसको सन्दर्भ पारेर जेठ १५ गते गर्न लागिएको छ ।

यसपालि ‘म, मेरो देश र मेरो सिर्जना’ मुख्य विषय राखेर प्रदर्शनी हुन लागेको प्रदर्शनीको कार्यकारी समितिका संयोजक प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए ।

यस वर्ष प्रदर्शनीका बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने पाँच जनालाई नगदसहित पुरस्कृत गरिने छ भने विभिन्न तहमा अध्ययनरत विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरूबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी आठ जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

यस वर्ष अरनिको राष्ट्रिय ललितकला सम्मान अग्रज कलाकार मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरिने भएको छ । प्रदर्शनीको उद्घाटनका क्रममा दुई जना पत्रकारसहित चित्रकला विधामा राष्ट्रिय र प्रादेशिक पुरस्कारहरू समेत प्रदान गरिने छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २१:३४
प्रतिक्रिया दिनुहोस्