नक्कली भुटानी शरणार्थी प्रकरण

प्रहरी र अख्तियार प्रमुखलाई साइजमा ल्याउन एआइजी श्याम ज्ञवालीले चलाए शरणार्थी तुरुप

बिहीबार, जेठ ११, २०८०

काठमाडौँ– नितान्त ठगीको उद्देश्यबाट सुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरण राज्यका बहालवाला पदाधिकारीहरुलाई आफ्नो दुनो सोझ्याउने उपकरण बन्न थालेको छ । 

पूर्वगृहमन्त्री, पूर्वउपप्रधानमन्त्री, नेपाल सरकारको बहालवाला सचिव जस्ता पदाधिकारी संलग्न भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुख बसन्त कुँवरलाई हटाउने नियत केही दिनयताको घटनाक्रमले स्पष्ट पारिदिएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेका नेपाली प्रहरीका एआइजी श्यामलाल ज्ञवाली वर्तमान प्रहरी प्रमुख बसन्त कुँवरलाई हटाउने अभियानमा लागेको पाइएको छ । आफू मातहतको निकाय काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुख कुवरलाई पनि दोषी देखाउने प्रयास भएको छ ।

प्रहरी प्रमुख कुवर तत्कालिन गृहसचिव टेकनारायण पाण्डेबीच भएको सम्बादलाई देखाएर एआइजीपी ज्ञवालीले प्रहरी प्रमुख हुने सपना देखेका हुन् । नेपाल प्रहरीमा एकैपटक सेवा प्रवेश गरेका प्रहरी प्रमुख कुवरलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर निलम्बन गर्न सकिए आफू प्रहरी प्रमुख हुने बाटो क्लियर हुने सम्भावना एआइजीपी ज्ञवालीले देखेका छन् ।

एआइजीपी ज्ञवाली मातहतमा अनुसन्धान भइरहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्षअघि एसएसपी रहेका हालका प्रहरी प्रमुख कुँवर र सचिव पाण्डेबीच भएको संवाद सार्वजनिक गर्ने भूमिकामा एआइजीपी ज्ञवाली नै रहेको स्रोतले दाबी गरेको छ ।

यस्तै, सो प्रकरणमा पक्राउ परेका व्यक्तिहरुको विरुद्धमा मुद्दा दर्ता नभइ संचार माध्यमहरुबाट उनीहरुको बयान सार्वजनिक भएको छ । एआइजीपी ज्ञवालीको निर्देशनमा यसरी वयान सार्वजनिक भएको स्रोतले बतायो । गम्भीर अपराधसँग जोडिएको यस्तो विषयमा अनुसन्धन प्रक्रिया पूरा नभइ सोसँग सम्बन्धित तथ्य वाहिरिनु अनुसन्धानमा भएको लापरवाहीको अर्थमा लिने गरिन्छ । तर, एआइजीपी ज्ञवालीकै निर्देशनमा वयान सार्वजनिक गर्ने कार्य भएको स्रोतको भनाइ छ ।

‘प्रहरीले पक्राउ गरेका व्यक्तिहरु विरुद्ध अनुसन्धान सकिएकै छैन, मुद्दा दायर भएकै छैन । संचार माध्यमहरुमा पक्राउ परेका व्यक्तिहरुले दिएको वयान हुबहु सार्वजनिक भएको छ । यति गम्भीर मुद्दामा यस्तो खेलाची गर्नु हुँदैनथ्यो, अनुसन्धानमा संलग्न कुनै व्यक्ति वा अधिकारीलाई यसो गर्दा फाइदा हुन्छ भन्ने लागेर गरेको हो कि जस्तो देखिन्छ,’ नेपाल प्रहरीका एक पूर्वपदाधिकारीले भने । 

यसरी वयान हुवहु सार्वजनिक हुँदा सो अनुसन्धानमा संलग्न सबै व्यक्तिहरुलाई निलम्बन गरी उनीहरुमाथि पनि अनुसन्धान हुनुपर्ने ती अधिकारीको भनाइ छ ।

आफू प्रमुख हुन नपाएको रिस !

कुवर र ज्ञवाली २०७९ असार ८ गते डिआइजीपीमा बढुवा भएका थिए । डिआइजीपीमा बढुवा हुनुअघि ज्ञवाली ५ नम्बरको एसएसपी थिए भने कुवर १२औं नम्बरमा थिए । तर, डिआइजीपीमा बढुवा हुँदा कुवर १ नम्बरमा बढुवा भएका थिए भने ज्ञवाली ५ औं नम्बरमा नै बढुवा भएका थिए ।

सरकारले पहिलो नम्बरमा रहेका एआइजीपी कुवरलाई प्रहरी प्रमुख बनाउँदा ज्ञवाली सन्तुष्ट थिएनन् । सोही कारण कुवरलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा तानेर निलम्बन गर्न सके आफू प्रहरी प्रमुख हुने बाटो खुल्ला हुने ज्ञवालीको विश्लेषण छ ।

तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस २२ गते कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएका थिए । उनी त्यहाँ २०७९ असार १७ गतेसम्म कार्यरत रहे । त्यस क्रममा नक्कली भुटानी शरणार्थी पीडितहरूको उजुरीका आधारमा २०७९ जेठ २८ गते केशव दुलाल र टंक गुरूङ पक्राउ परेका थिए । तर उनीहरूलाई सामान्य सोधपुछ गरेर रेकर्ड नै नराखी सचिव पाण्डेको दबाबमा छाडिएको थियो । 

तत्कालिन गृहसचिव पाण्डको दबाबमा छोडिएको विषयलाई अहिले प्रचारबाजी गरेर प्रहरी प्रमुख कुवरलाई पनि दोषी देखाउने प्रयास भइरहेको छ । 

प्रधानमन्त्री र गृहमन्त्रीको ग्रिन सिग्नल 

वर्तमान प्रहरी प्रमुख कुवर हटेमा उनलाई प्रहरी प्रमुख बनाइदिने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एआइजीपी ज्ञवालीलाई दिएको स्रोतले बतायो । 

‘कुवरको साटो ज्ञवालीलाई नै प्रहरी प्रमुख बनाउने योजनामा प्रधानमन्त्री थिए । सत्तासाझेदारीबाट एमाले भर्खरै बाहिरिएको, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन यथावत रहेपनि सरकारमा नरहेको र आफूभन्दा झण्डै ३ गुणा ठुलो दल नेपाली कांग्रेसको सहयोग आवश्यक पर्ने भएपछि कुवरलाई प्रहरी प्रमुख बनाइएको थियो,’ त्यो बेलाको सरकारको परिस्थितिबारे स्मरण गर्दै एक पूर्वप्रहरी अधिकारीले भने ।

उनको दाबी अनुसार माओवादीका लिलामणि पोखरेल लगायतका नेताहरु कुवरको साटो ज्ञवालीलाई प्रहरी प्रमुख बनाउने लविङमा लागेका थिए । तर, सत्ता साझेदार दल नेपाली कांग्रेसले पहिलो वरियतामा रहेका कुवरलाई नै प्रहरी प्रमुख बनाउँदा राम्रो हुने सुझाव दिएपछि ज्ञवालीको आशामा तुसारापात भएको स्रोतले बतायो ।

अहिले कुवरलाई कुनै कारण देखाएर हटाउन सकिए प्रहरी प्रमुख हुने ज्ञवालीको तीव्र चाहना पूरा हुने स्रोतको भनाइ छ ।

साइजमा आयो अख्तियार !

ज्ञवालीलाई प्रहरी प्रमुख बन्न रोक्ने कारण राजनीति बाहेक अर्काे पनि थियो । त्यो कारण थियो अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

नयाँ आइजीपी बनाउने बेलामा अख्तियारले गृह मन्त्रालयलाई पत्र लेख्दै ज्ञवालीको उमेर सम्बन्धि विवादमा आवश्यक अनुसन्धान गर्न भनेको थियो । एआइजीपी ज्ञवालीको उमेरमा ११ दिनको विवाद रहेको बताइन्छ ।

अख्तियारले यस्तो पत्र पठाएपछि ‘विवादित व्यक्तिलाई प्रहरी प्रमुख बनाउनु हुँदैन’ भन्ने मत बलियो भएको थियो । त्यसको केही समयअघि मात्रै उमेर विवादकै कारण तत्कालिन डिआइजीपी अशोक सिंहले पदबाट राजीनामा गरेका थिए ।

अख्तियारले पत्र पठाएकै कारण आफ्नो सम्भावना कम भएको र कुवरले प्रहरी प्रमुख बन्ने मौका पाएको बुझाइ एआइजीपी ज्ञवालीको छ । तर, गत बैशाख दोस्रो सातासम्म पुग्दा ज्ञवालीले अख्तियारलाई पनि ‘साइजमा ल्याइसकेको पुष्टी भएको’ घटनाक्रमले देखाएको छ ।

अख्तियारको प्रमुख आयुक्त पूर्वगृहसचिव प्रेमकुमार राई छन् । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए । अख्तियार प्रमुख राईकै कारण आफूले प्रहरी प्रमुख बन्ने मौका गुमाउनु परेको भन्ने विश्लेषणमा रहेका ज्ञवालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणले सो प्रतिशोध पनि साध्ने मौका जुरेको स्रोतको दाबी छ ।

गत बैशाख १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एआइजीपी ज्ञवालीको उमेर विवाद सम्बन्धी उजुरीलाई तामेलीमा राखेको पत्र प्रहरी प्रधान कार्यालय पठाएको थियो । सो उजुरीलाई तामेलीमा राख्ने निर्णय बैशाख १४ गते भएको थियो । 

‘नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक श्यामलाल ज्ञवालीले नागरिकताको जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याइ जागिर खाएको भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा प्रारम्भिक छानविन सम्पन्न भइ आयोगको मिति २०८०÷०१÷१४ को निर्णय अनुसार पछि थप प्रमाण फेला परेमा कानुन बमोजिम हुने गरी आललाई सो उजुरी तामेलीमा राखिएको व्यहोरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (१३) वमोजिम सुचित गरिन्छ,’ अख्तियारले प्ररही प्रधान कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुख राईको नाम पनि मुछिएको छ । एआइजीपी ज्ञवालीले अख्तियार प्रमुख राईसँग सो विषयमा ‘गिभ एण्ड टेक’ गरेको स्रोतले बतायो ।

‘ज्ञवालीको उमेर सम्बन्धी विवादमा अख्तियारले कारबाही अघि नबढाउने र शरणार्थी प्रकरणमा प्रेम राईको नाम नजोड्ने भन्ने सहमति भएको रहेछ । सोही सहमति अनुसार अख्तियारले ज्ञवालीको उमेर विवाद सम्बन्धी उजुरीलाई तामेलीमा राख्ने निर्णय गर्यो तर ज्ञवाली मातहतको अनुसन्धानले अख्तियार प्रमुख राईलाई दोषी प्रमाणित गर्ने प्रमाण फेला नपारे पनि उनको नाम मुछियो,’ स्रोतले भन्यो ।

सो प्रकरणमा ज्ञवालीले राईलाई ‘धोका दिएको’ स्रोतको दाबी छ । तर अर्काे स्रोतले भने ज्ञवालीलाई ‘प्रधानमन्त्रीको काम गरिदिनै पर्ने’ भएकोले राईलाई धोका दिन ज्ञवाली वाध्य भएको दाबी गरेको छ ।

सो स्रोतले प्रधानमन्त्री प्रचण्डलाई जसरी पनि अख्तियार प्रमुख राईलाई हटाउनै पर्ने र ज्ञवालीलाई प्रहरी प्रमुख बन्नै पर्ने अवस्था नक्कली भुटानी शरणार्थी प्रकरणले एकैपटक पूरा गरिदिने देखिएको दाबी गरेको छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिए भने राई अख्तियार प्रमुखबाट हट्ने नै भए । सोही प्रकरणमा मुछिएपछि प्रहरी प्रमुख कुवर पनि हट्ने नै भए । राई हट्दा प्रधानमन्त्रीको स्वार्थ पूरा हुने भयो, कुवर हट्दा ज्ञवाली र माओवादी नेताहरुको स्वार्थ पूरा हुने भयो । यस्तो परिस्थिति निर्माण भएपछि राई र कुवरको नाम जोडिए जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्