रवि लामिछानेको प्रश्न– नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैलाई बोलाएर बयान लिन प्रहरी किन डराएको ?

बुधबार, जेठ १०, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा संसदीय दलका नेता रवि लामिछानले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबैको बयान लिनुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको कस्मिक समयमा बोल्दै सांसद लामिछानेले यस्तो बताएका हुन् ।

तीन दलका नेताहरुले खुसुरखुसुर छलफल गर्दा नै शंका उत्पन्न भएको भन्दै उनले अब राज्यका अनुसन्धान निकायदेखि उच्च तहसम्मको विश्वसनीयता नै समाप्त भएको बताए ।

‘तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शंका लागिरहेको थियो । आज त राज्यका निकायहरु, अनुसन्धान निकायहरुमै प्रश्न उठिरहेको छ । यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन । खुलेयाम बालुवाटार र सिंहदरबारमा पैसा बुझेको कुरा आइरहेको छ,’ लामिछानेले भने ।

सोही प्रकरणमा जोडिएका व्यक्तिहरुले किटानी बयान दिँदा समेत नाम मुछिएकाहरुलाई पक्राउ नगर्नुले राज्यमाथिको विश्वसनीयतामा प्रश्न उठेको उनको भनाइ छ ।

‘ज–जसको नाम आएको छ, उनीहरुको छानबिन समेत गर्न नसक्ने गरी किन डराएको ? प्रधानमन्त्री, गृहमन्त्री मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको ? हाम्रो हकमा, नागरिकको हकमा आउँछु भन्दा भन्दै समातिएको छ । न्युजरुमबाट समातिएको व्यक्ति म यहाँ छु । एकपटक छानबिनका लागि, सोधपुछका लागि बोलाउन पनि नसक्ने को हो उहाँहरु ?’ उनले भने ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्