काठमाडौँ– केही वर्षअघिसम्म राजनीतिको मियो जस्तै देखिने नेपाली नेताहरु अहिले ‘मेनस्ट्रिम पोलिटिक्स’बाट ‘रिङआउट’ जस्तै देखिएका छन् ।
खासगरी २०६२/६३ को दोस्रो जनआन्दोलनपछि राजनीतिको केन्द्रमा देखिएका नेताहरु भारतको राजनीतिमा आएको परिवर्तनले नेपालको राजनीतिक मुलधारमा पनि रिङआउट जस्तै देखिएका हुन् ।
भारतमा भारतीय जनता पार्टी (भाजपा) र त्यसका नेता नरेन्द्र मोदीको आगमनपछि अनपेक्षित रुपमा केही नेपाली नेताहरु मुलधारको राजनीतिबाट बाहिर परेका हुन् । जबकि, भारतीय कांग्रेस (कांग्रेस आई) भारतको राजनीतिक सत्तामा हुँदा ती नेपाली नेताहरु नेपाली राजनीतिको मुलपात्र जस्ता देखिन्थे ।
कांग्रेस आई कमजोर बनेपछि नेपालको राजनीतिमा कमजोर बनेका नेपाली नेताहरुमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई तथा नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि र डा. अमरेशकुमार सिंह हुन् ।
दोस्रो जनआन्दोलनपछि यी नेताहरु नेपालको राजनीतिको केन्द्रमा थिए । तत्कालिन विद्रोही शक्ति नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन मुख्य भूमिका खेल्ने सिटौला र माओवादी र तत्कालिन ७ दलको बीच १२ बुँदै समझदारी गराउन मुख्य भूमिका खेलेका निधि अहिले अनपेक्षित रुपमा गुमनाम छन् ।
माओवादीको उपाध्यक्षसमेत बनेका डा. भट्टराई पनि अहिले राजनीतिक मुलधारमा छैनन् । प्रधानमन्त्री समेत भइसकेका डा. भट्टराई अहिले करिब दलविहिन अवस्थामा छन् ।
यस्तै, २०६४ सालको संविधानसभा निर्वाचनमा २ ठाउँबाट चुनाव हारेपछि माधवकुमार नेपाल उनको पार्टीको महासचिव पदबाट पनि हटेका थिए । तर, उनी पछि मनोनितरुपमा संविधानसभा सदस्य मात्रै बनेनन्, २०६६ जेठ ११ गते प्रधानमन्त्री नै बने । उनी सो समयको सबैभन्दा ठूलो दल माओवादीको सरकार ढलेपछि तेस्रो ठुलो दलको एक मनोनित सांसदको रुपमा प्रधानमन्त्री बनेका थिए ।
नेपाल नेतृत्वको सरकार ढलेपछि एमाले महासचिव झलनाथ खनालको नेतृत्वमा सरकार बनेको थियो । खनाल नेतृत्वको सरकार ढलेपछि भने डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए । डा. भट्टराईको कार्यकालमा नै पहिलो संविधानसभाको कार्यकाल समाप्त भयो । र, सर्वाेच्च अदालतको प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा मन्त्रिपरिषद गठन भएर दोस्रो संविधानसभा गठन भएको थियो ।
यस्तै, माओवादी शान्ति प्रक्रियामा आएदेखि नै चर्चाको शिखरमा रहेका नेपाली कांग्रेससँग आवद्ध भएका नेता डा. अमरेशकुमार सिंह पछिल्लो समय पार्टीविहिन अवस्थामा छन् । यद्यपि, उनले सर्लाहीबाट स्वतन्त्र रुपमा निर्वाचन भने जितेका छन् ।
किन कमजोर भए ?
नेपालको राजनीतिमा स्थापित हुन भारतीय संस्थापन पक्षको सहयोग पनि आवश्यक पर्छ भन्ने मान्यता राखिन्छ । भारतसँग राम्रो सम्बन्ध भएका नेताहरु नेपाली राजनीतिको केन्द्रमा देखिने गरेका उदाहरण पनि छन् ।
राजनीतिक विश्लेषक प्रभुनारायण बस्नेत जनमतको साटो कसैको आशिर्वादमा टिकेका नेताहरु आशिर्वाद दिनेहरु कमजोर हुँदा आशिर्वाद प्राप्त गर्नेहरु पनि कमजोर देखिनु अनौठो नभएको बताउँछन् ।
‘जनताको बलमा या जनमतको आधारमा नेता बनेकाहरु राज्यले दमन गर्दा पनि प्रभावशाली नेताकै रुपमा स्थापित भइरहेका उदाहरण धेरै छन् । तर, कसैको आशिर्वादमा नेता बनेकाहरु आशिर्वाद दिनेहरु कमजोर बनेसँगै आशिर्वाद पाउने पनि कमजोर हुनु अनौठो होइन,’ विश्लेषक बस्नेतले भने ।
मुलधारको राजनीतिबाट रिङआउट भएका नेताहरुको राजनीतिक पृष्ठभूमिः
माधवकुमार नेपाल
नेपाल अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्ष छन् । सोभन्दा अघि उनी नेकपा एमालेका आवद्ध थिए । उनको राजनीतिक अवद्धता वि.सं. २०२२ सालदेखि सदस्यता र २०२६ सालमा विद्यार्थी कमिटी, वीरगन्जबाट भएको हो ।

नेपाल वि.सं. २०३१ सालदेखि २०४७ साल सम्म १६ वर्ष भूमिगत भए । उनी २०५० देखि २०६५ सम्म नेकपा (एमाले)को महासचिवत भए । २०४७ सालमा संविधान सुझाव आयोग सदस्य बनेका २०४८ सालदेखि २०५६ सालसम्म नेपाल राष्ट्रिय सभा सदस्य, विपक्षी दलको नेता, सत्ता पक्षको नेता भए ।




यस्तै, उनी २०५६ सालदेखि प्रतिनिधि सभा सदस्य भए । २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा रौतहट र काठमाडौँबाट पराजित नेपाल पछि संविधान सभा सदस्यमा मनोनित भए । र, २०७० मा भएको दोस्रो संविधानसभा सदस्यमा भने उनी रौतहटबाट निर्वाचित भए । यसबीचमा उनी संवैधानिक समितिको सभापति, विपक्षी दलको नेता भए । २०५१ देखि २०५२ सम्म उपप्रधानमन्त्री, परराष्ट्र तथा रक्षामन्त्री भएका नेपाल २०६६ सालमा प्रधानमन्त्री भए ।
डा. बाबुराम भट्टराई
कम्युनिष्ट आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका डा. भट्टराई पछिल्लो समय कम्युनिष्ट पार्टीबाट टाढा पुगिसकेका छन् । उनी वि.सं. २०२७ सालदेखि राजनीतिमा आवद्ध भएका थिए ।

वि.सं. २०२७ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) बाट राजनीतिमा आबद्ध भएका डा. भट्टराई त्यसपछि २०३४ सालमा अखिल भारत नेपाली एकता समाजको संस्थापक अध्यक्ष भए । २०४७ सालमा संयुक्त जनमोर्चाको अध्यक्ष बनेका भट्टराई नेकपा (एकता केन्द्र) को पोलिटब्युरो सदस्य भए । २०५१ सालमा उनी नेकपा (माओवादी) मा आबद्ध भए । माओवादीको पोलिटब्युरो, स्थायी समिति हुँदै उपाध्यक्षको जिम्मेवारी संहालेका डा. नेपाल २०७३ सालमा एमाओवादीबाट नयाँ शक्ति पार्टीको स्थापना गरी नेतृत्वमा रहे ।





उनको पार्टी २०७६ सालमा संघीय समाजवादी फोरमसँग एकतामा गयो भने उनी समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष भए । २०५२ देखि २०६२ सम्म भूमिगत, २०३६, २०४२, २०४५ र २०५० गरी ४ पटक बन्दी जीवन विताएका डा. भट्टराई विगतमा अर्थ मन्त्री तथा प्रधानमन्त्री बनिसकेका व्यक्ति हुन् ।
कृष्णप्रसाद सिटौला
२०३३ सालदेखि संगठित रुपमा कांग्रेस राजनीतिमा आबद्ध भएका सिटौला २०४३ सालमा कांग्रेसको झापा जिल्ला उपसभापति भएका थिए । २०४६ को जनआन्दोलनमा पार्टीको तर्फबाट संयोजक तथा कार्यबहाक जिल्ला सभापति भएका थिए ।

२०४६ सालमा बहुदल स्थापना भएपछि झापा जिल्ला पार्टी सभापति भएका सिटौला २०५६ सालमा पार्टीको केन्द्रीय समन्वय विभाग प्रमुख भए । १० औं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित उनी पार्टीको महामन्त्री पनि बने । कांग्रेसको १३ औं महाधिवेशनमा सिटौला केन्द्रीय सभापति पदको उम्मेदवार बने तर पराजित भए ।


२०४८ को चुनावमा तत्कालीन झापा १ बाट पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका सिटौला एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भएका थिए । २०५० को उपनिर्वाचनमा सिटौला निर्वाचित भए । २०५१ को मध्यावधि निर्वाचनमा उनी फेरि पराजित भए । तर, २०५६ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी विजयी भए । र, २०६४ को संविधान सभा निर्वाचनमा भने उनी पराजित भए । सिटौलाई २०६४ मा माओवादीका पूर्णसिंह राजवंशीले र २०७४ मा राप्रपाका राजेन्द्र लिङदेनले उनलाई पराजित गरे ।
२०५७ साल माघमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेका सिटौला २०६३ मा गिरिजाप्रसाद नेतृत्वको सरकारमा गृहमन्त्री बने । बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधान, रक्षा, कानुन न्याय तथा संविधानसभा व्यवस्थामन्त्री पनि भए ।
विमलेन्द्र निधि
विमलेन्द्र निधि १४ वर्षको उमेरमा आफ्नो बुबाको गिरफ्तारी देखेपछि विद्यार्थी राजनीतिमा सामेल भएका थिए । उनी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व अध्यक्ष पनि हुन् ।
जनमत संग्रहको समयमा बीपी कोइरालाद्वारा निर्वाचित भई राष्ट्रिय स्तरमा नेविसंघको नेतृत्व गर्दा उनी २३ वर्षका थिए । नेपाली कांग्रेसको उपसभापति समेत भइसकेका छन् ।

उनी दुई पटक सामान्य प्रशासन मन्त्री, एक पटक शिक्षा तथा खेलकुद मन्त्री र एक महिना उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भइसकेका छन् । उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत भइसकेका छन् । उनले पुष्पकमल दाहालको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रीको जिम्मेवारी लिएर उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
निधि धनुषा ३ बाट दुई पटक संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनले २०५१ देखि २०६३ सम्म धनुषा ४ बाट प्रतिनिधि सभाको सदस्य भएर पनि काम गरे । २०६४ तथा २०७० को संविधान सभामा धनुषा ३ बाट संविधानसभा सदस्य भए । २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनी मधेशवादी नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।
डा. अमरेशकुमार सिंह
सिंहले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी २०४२ सालदेखि कांग्रेसमा आवद्ध भएका थिए ।

वि.सं. २०५४ सालमा गोरखापत्र संस्थानको सञ्चालक सदस्य भएका सिंह २०६३ साल अन्तरिम व्यवस्थापिकाको सदस्य, २०७० साल सर्लाही ६ बाट प्रत्यक्ष निर्वाचित सभासद भए । २०७४ साल सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष निर्वाचित भएका सिंहले २०४६ साल र २०६२ साल (जेल, भूमिगत र बन्दी जीवन) विताएका छन् । उनी २०६३, २०७० २०७४ सालमा सांसद बनेका थिए भने गत मंसिर ४ मा भएको आम निर्वाचनमा सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका छन् ।

सिंह कांग्रेस सभापति शेरबहादुर देउवासँग खटपट भएपछि पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । यद्यपि, उनले चुनाव जितेका छन् । तर, पछिल्लो समय पनि उनी संसदमा कपडा खोल्नेदेखि विभिन्न हर्कत गरेर चर्चाको केन्द्रमा छन् । उनले कांग्रेस सभापति देउवा र उनकी पत्नी डा. आरजु राणाप्रति कडा आक्षेपहरु लगाउने गरेका छन् ।