टिप्पणी

नक्कली भुटानी शरणार्थी प्रकरणमा केपी ओलीसँग प्रहरीले बयान लियो भने के हुन्छ ?

‘अपराधिक सुचना लुकाएको अभियोगमा ओलीमाथि प्रहरीले मुद्दा चलाउन सक्छ’
आइतबार, जेठ ७, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थीको विषयमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक महत्वपूर्ण अभिव्यक्ति दिएको १० दिने वितेको छ ।

बैशाख २८ गतेदेखि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा एमाले पार्टी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘यो कुरा आफूलाई सुरुदेखि नै थाहा भएकोले तथ्य र प्रमाणसहित’ संसदमा बोल्ने बताएका थिए ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीले दिएको सो अभिव्यक्तिबारे राजनीतिक परिचर्चा मात्रै भयो । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायामाझी, नेपाल सरकारका बहालवाला सचिव टेकनाराथण पाण्डे लगायतका नेता तथा उच्च पदस्थ अधिकारीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

ओलीले जेठ ४ गते प्रतिनिधि सभामा सो विषयमा तथ्य र प्रमाणसहित बोल्ने बताएका थिए । तर, प्रहरीले यति महत्व दिएको र अन्तराष्ट्रिय चासो र सरोकारको विषय भएपनि अध्यक्ष ओलीको भनाइलाई नेपाल प्रहरीले भने पुरै बेवास्ता गरेको पाइएको छ । प्रहरीको अनुसन्धान प्रक्रियालाई सबैभन्दा महत्वपूर्ण सुचना तथा जानकारी ओलीसँग भएको हुन सक्ने संकेत स्वयम ओलीले गरेपनि प्रहरीले किन चासो दिएन भन्ने प्रश्न भने अहम भएको छ ।

‘सुरूदेखि नै मलाई थाहा छ । सम्भवतः जेठ ४ गते म संसदमा बोल्छु । संसदमा बोल्दा मैले कसले कहिले कसलाई नक्कली शरणार्थी बनाएर पठायो भन्ने सबै कुरा तथ्य प्रमाणसहित राख्छु,’ ओलीले २८ बैशाखमा एमाले केन्द्रीय कमिटी बैठकमा भनेका थिए ।

ओलीले भनेका कुरा अहिले प्रहरीले खोजी गरिरहेको महत्वपूर्ण विषय पनि छ । उनले भनेका थिए– ‘सन् २०१२ पछि विभिन्न गिरोहहरू नक्कली भुटानी शरणार्थीलाई बाहिर पठाउन सक्रिय रहेको देखिन्छ, । त्यसबेला तीन÷साढे तीन सय मानिस बाहिर पठाएको बुझिन्छ । यो काम जोइन्ट भेरिफिकेसन टिममा लागेका मान्छेबाट तलतलै भरहेको थियो ।  तर त्यो कुरा गोप्य रह्यो,’ ओलीले भनेका थिए ।

नक्कली शरणार्थी प्रकरण अन्तराष्ट्रिय विषय भएको ओलीले स्वीकार गरेका छन् । 

सोही बैठकमा ओलीले भनेका थिए– ‘‘अब राज्यको इच्छामा सबै कुरा रहेन ।  हामीलाई थाहा छ राज्यको स्थिति के छ भनेर ।  राज्यको इच्छामा सबै कुरा चल्ने अवस्था छैन, रहेन अब । राज्य आफैंले पनि चाहेको हुन्थ्यो भने अहिलेको परिस्थिति पनि आउने थिएन, बेग्लै परस्थिति आउँथ्यो,’ ओलीले भनेका थिए ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेताले सार्वजनिक रुपमा यति महत्वपूर्ण सुचना तथा जानकारी दिदा पनि नेपाल प्रहरी भने ओलीको भनाइप्रति गैरजानकार जस्तो देखियो । राज्यका स्रोत साधन लगाएर अनुसन्धान गरिरहेको प्रहरीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलको नेताले नै ‘मसँग तथ्य र प्रमाण छन्’ भन्दा पनि एक बचन पनि उनीसँग जानकारी नलिनु आफैमा अनौठो तथ्य भएको छ ।

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल कानुनी रुपमा प्रहरीले ओलीसँग बयान लिनुपर्ने बताउँछन् । तर, नेपाल जस्तो तेस्रो विश्वमा सरकारको पूर्ण सहयोग नभइ प्रहरीले मात्रै यस्ता कार्य गर्न नसक्ने उनको भनाइ छ ।

‘कानुनी रुपमा हेर्ने हो भने नक्कली भुटानी शरणार्थीको विषयमा मलाई जानकारी छ भन्ने व्यक्तिसँग प्रहरीले बयान लिनुपर्छ । उहाँ (केपी शर्मा ओली) सामान्य नागरिक होइन, पूर्वप्रधानमन्त्री, संसद सदस्य तथा प्रमुख प्रतिपक्षी दलको नेतासमेत हो । यस्ता उच्च राजनीतिक व्यक्तित्वमाथि प्रहरीले कुनै पनि अनुसन्धान गर्न सरकारको भरपुर सहयोग चाहिन्छ, जुन करिब हुँदैन,’ पूर्वडिआइजी मल्लले भने ।

पूर्वप्रधानमन्त्री ओलीले आपराधिक सुचना लुकाएको अभियोग लाग्न सक्ने उनको भनाइ छ । 

‘उहाँ (ओली) ले नै नक्कली शरणार्थी प्रकरणमा आफूलाई पहिलादेखि नै जानकारी थियो भन्नुभयो । यसको मतलब उहाँसँग आपराधिक सुचना थियो र त्यो लुकाउनु भयो । आपराधिक सुचना लुकाउनु पनि अपराध गर्नु हो । त्यसैले उहाँमाथि आपराधिक सुचना लुकाएको अभियोगमा मुद्दा चल्न सक्छ,’ पूर्वडिआइजी मल्लले थपे ।

सार्वजनिक पद धारण गरिसकेका र गरिरहेका व्यक्तिहरुले महत्वपूर्ण विषयमा पनि विचार नगरी बोल्दा समस्या हुने उनको उनको भनाइ छ ।

‘सार्वजनिक पद धारण गरेका र गरिसकेका व्यक्तिहरुले बोलेको र लेखेर दिएको कुराको उत्तिकै महत्व रहन्छ । नेताहरुले सार्वजनिक खपतका लागि जे पनि बोलिदिनु हुन्छ । यसले गर्दा देशलाई नै संकट पर्ने अवस्था आउँछ । जस्तो कि पूर्वप्रधानमन्त्री ओलीले अहिले थपिएका ८७५ जना नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्रै होइन, यसअघि गएका १ लाख ८ हजार शरणार्थीको विषयमा पनि प्रश्न उठ्ने गरी बोलिदिनु भयो । यसले गर्दा नेपालाई दीर्घकालमा समस्या हुन्छ,’ उनले भने ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्