नेभिगेशन
अर्थ विविध

स्थल मार्गबाट आउने पर्यटकका समस्या समाधान गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडाैं - उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थल मार्गबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अन्तर मन्त्रालय समन्वयको अभावमा नेपाल–भारत सिमानाकामा दुःख पाएको गुनासो आएको भन्दै तत्काल समाधान निकाल्न आग्रह गरेका छन् ।

बिहीबार काठमाडौंमा नेपाल एसाेसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस्को ५४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, “हाम्रा विभिन्न सरकारी निकायबीच समन्वय नहुँदा स्थल मार्गबाट आउने पर्यटकले विभिन्न किसिमका झमेला झेल्न परिरहेको गुनासो आउने गरेको छ। अर्थ, गृह र पर्यटन मन्त्रालयबीच समन्वयको अभावमा समस्या परेको देखिन्छ । यसको तत्काल समाधान गरियोस् । पर्यटकले दुख पाउँदा नराम्रो सन्देश जाने र नेपाल प्रति नकारात्मक धारणा बन्न सक्छ ।”

उनले हरेक प्रदेशमा ठूला र नमुना पर्यटकीय गन्तव्य निर्माणमा निजी क्षेत्रलाई सहजीकरण गर्न नेपाल सरकार र अन्य निकायलाई आग्रह गरे । काठमाडौंको चन्द्रागिरिमा निर्माण गरिएको पर्यटकीय पूर्वाधारको उदाहरण दिँदै ढकालले यस्तै किसिमका पूर्वाधार सात वटै प्रदेशमा निर्माण गर्न सके पर्यटकको बसाई दोब्बर गर्न सकिने बताए।

आफू पनि सात वटै प्रदेशमा पर्यटन पूर्वाधार बनाउन पर्छ भनेर अभियन्ताको रुपमा लागेको उनले बताए। उनले भारतसँगको सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तब्य भारतीय पर्यटकको रोजाइमा परेको भन्दै सरकारले ती स्थानमा पर्यटन पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्ने बताए ।

ढकालले भने, “सिमानाका नजिक रहेका नेपालका पहाडी गन्तब्य भारतीय पर्यटकको रोजाइ बन्दै छन् । नेपालका हिल स्टेशनमा आएर विवाह, पिकनिक, पार्टीलगायत अन्य सामाजिक तथा मनोरञ्जनात्मक गतिविधि गर्न चाहने भारतीय र अन्य छिमेकी देशका पर्यटकलाई यहाँ आकर्षित गर्न सकिन्छ ।

कोभिड महामारीपछि थला परेको पर्यटन व्यवसाय पुनः लयमा आउन लागेको बताउँदै उनले भैरहवा र पोखरामा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह समेत गरे। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध