ह्वावे क्लाउडले ल्यायो साझेदारका लागि नयाँ फ्रेमवर्क

बिहीबार, जेठ ४, २०८०

काठमाडौँ– विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले उपत्यकामा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरुबीच सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक  गरेको छ । ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार शर्माले सञ्चालन गरेको सो कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरू प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता रहेको थियो ।

गो क्लाउड र ग्रो क्लाउड  फ्रेमवर्कले  पुनर्बिक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको छ ।

ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेज रहेको छ ।  प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभ जस्तैः त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरू पनि ल्याएको छ । नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, ह्वावे क्लाउड प्रयोग गरे वापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रम सहित पाँच थप फाइदाहरू पनि प्रदान गर्ने कम्पनीको दाबी छ ।

यस प्याकेजका प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु हो । कार्यक्रमका मुख्य फाइदाहरूमध्ये एक क्षमता विकास र प्रमाणीकरण हो  जसले साझेदारहरूलाई ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरु र प्रमाणपत्रहरूमार्फत आफ्नो सिप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ ।

ह्वावेकोे गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो । यस प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि–आर्किटेक्टर क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापनजस्ता सेवामार्फत व्यावसायिक क्लाउड सेवा निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्ने कम्पनीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:१६
प्रतिक्रिया दिनुहोस्