नेभिगेशन
अर्थ विविध

सहकारीका सात सय बचतकर्ताले प्रहरीमा कागजात बुझाए

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मङ्गलबार र बुधबार गरी सात सय ३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएको जानकारी दिए ।

‘यो सहकारीका बिषयमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दैछ, कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजात विवरण पेश गर्न भनेका हौँ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयको मूल गेटमा कागजात बुझाउने बचतकर्ताको बुधबारदेखि भीडभाड छ । प्रहरीका अनुसार उक्त सहकारीले महेन्द्रनगर शाखाबाट मात्रै रु २६ करोड निक्षेप सङ्कलन गरेको देखिएको छ । गत माघयता सहकारी सञ्चालक सम्र्पक बाहिर रहेका छन् । सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत कर्मचारीले बन्द गरेका छन् ।

‘यहाँ मार्टबाहेक अन्य घर जग्गा कारोबारमा लगानी भएको पनि देखिएन । अब कागजात जम्मा पारेर सहकारी ठगीमा मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाउँछौँ,’ उनले भने ।

प्रहरीमा बचतकर्ताले फेसबुक, रकम जम्मा गरेका कागजात र नागरिकताको प्रतिलिपिलगायतका कागजात पेश गरिरहेका छन् । यहाँ गत माघको तेस्रो साता लगानी डुब्ने चिन्ताले बचत रकम फिर्ता माग्दै बचतकर्ता आन्दोलित भएका थिए ।

उक्त संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता माग्न पहल गरिदिन आग्रह गर्दै आएका छन् । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध