पोर्नाेहवसँग जोडिएको वानएक्स बेट अनलाइन गेमिङले नेपालीलाई ठग्दै

आइपीएलको सिजनमा आक्रामक प्रचार, भारतीय साइटमा नेपाली भाषामा विज्ञापन
बुधबार, जेठ ३, २०८०

काठमाडौँ– नेपालसहित संसारका केही देशमा अबैध घोषणा गरिएको अनलाइन गेमिङ साइट वानएक्स बेटले नेपालीसँग अबैध रकम उठाउने गरेको तथ्य फेला परेको छ ।

भारतमा जारी आइपिएल खेलको मौका पारेर नेपालीलाई अबैध अनलाइन जुवा खेलाउने गरिएको पाइएको हो । यसका लागि क्रिकेट सम्बन्धी जानकारी दिने साइट इएसपिएन क्रिकइन्फो डटकम र लोकप्रिय क्रिकेट खेलाडी किरण पोलार्डलाई प्रयोग गरिएको छ ।

पछिल्लो समय क्रिकेट खेल नेपालमा पनि लोकप्रिय भएको छ । आइपिएलमा मुम्बइ इन्डियनबाट खेल्ने वेष्ट इन्डिजका अलराउन्डर क्रिकेटर पोलार्ड लोकप्रिय खेलाडी हुन् । आइपिएललगायतका क्रिकेट खेलको लाइभदेखि क्रिकेट सम्बन्धी धेरै जानकारी इएसपिएन क्रिकइन्फो डटकमले दिने गर्छ । 

1x-bet21684319983.jpg

वानएक्स बेटले क्रिकेटर पोलार्डलाई आधिकारिक ब्राण्ड एम्बेसडर बनाएको छ भने इएसपिएन क्रिकइन्फो डटकममा विज्ञापन गरिएको छ । सो विज्ञापन नेपालबाट हेर्दा नेपाली भाषामा पनि देखिन्छ । र, नेपालका भुक्तानी सेवा प्रदायक कम्पनीहरु खल्ती, कनेक्ट आइपिएस, आइएमई पे जस्ता कम्पनीबाट रकम भुक्तानी गरी अनलाइन जुवामा सहभागी हुन पाइन्छ ।

अरु खेलामा पनि हुन्छ बेटिङ

वानएक्स बेटले आइपिएल मात्रै होइन, अन्य लोकप्रिय खेलामा पनि सट्टेबाजी गर्ने गराएको पाइएको छ । सो कम्पनीले फुटबलको च्याम्पियन्स लिंग, टेलिनसको ग्राण्डस्लाम जस्ता खेलमा पनि बेटिङ गराउने गरेको उसको वेबसाइटमा भेटिन्छ । 

वेबसाइटमा उल्लेख भएअनुसार राष्ट्रिय टीम र ठूला स्पर्धाको बारेमा बेट गर्न सकिन्छ । यस्तै, क्यासिन, लाइभ क्यासिनो, वानएक्स गेम, विंगो लगायतका अनलाइन गेम खेल्न सकिन्छ ।

कसरी खेलाइन्छ ?

सो अनलाइन गेमिङ (अनलाइन जुवा) मा कुनै पनि खेलमा कुनै पनि खेलाडीको प्रदर्शन, खेलको नतिजा जस्ता विषयमा बेटिङ (सट्टेबाजी) गराइन्छ । जस्तो कि हिजो आइपिएलमा मुम्बइ इन्डियन्स र लखनाउबीच खेल  भएको थियो । सो खेलमा कसले टस जित्छ भनेर पनि बेटिङ गर्न सकिन्छ ।

सो खेलमा लखनाउले पहिला व्याटिङ गरेको थियो । पहिला व्याटिङ गर्दा लखनाउले कति रन बनाउँछ वा त्यसका कुन खेलाडीले कति रन बनाउँछन् भनेर पनि बेटिङ हुन्छ । खेल कसले जित्छ भनेर पनि बेटिङ गराइन्छ भने कुन बलमा कुन खेलाडीले कति रन बनाउँछन् वा बाइड, नो रन वा के हुन्छ भनेर पनि बेटिङ गराइन्छ ।

कसरी तिर्ने रकम ?

अनलाइन जुवामा सहभागी हुनको लागि निश्चित रकम तिर्नुपर्छ । सो रकम तिर्नको लागि वानएक्स बेटले आफ्नो वेबसाइटमार्फत दिएको जानकारी अनुसार नेपालका भुक्तानी माध्यमहरु प्रयोग गर्न पाइन्छ । कनेक्ट आइपिएस, इसेवा, खल्ती, आइएमई पेलगायत नेपाली कम्पनीमार्फत भुक्तानी गर्न सकिन्छ । 

1x-bet-payment-help1684320022.jpg

यसरी भुक्तानी गर्दा नेपाली एजेन्टले नेपालीमै रकम बुझ्ने गरेका छन् । उनीहरुले बुझेको रकम पछि विदेशी मुद्रामा परिवर्तन गरी सम्बन्धित कम्पनीलाई दिने गरिएको छ । विदेशी मुद्रामा भुक्तानी गर्नको लागि भने भिसा, मास्टर कार्ड जस्ता अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायकहरु जोडिने गरेका छन् ।

नेपालीका लागि छुट्टै सहयोगी टीम

अनलाइन जुवाको मुख्य ध्यान भनेको कमाउने हो । त्यसैले कम्पनीले रकम भुक्तानीको लागि सहजीकरण गर्न नेपालीको लागि बेग्लै टीम राखेको देखिन्छ ।

कम्पनीले आफ्नो वेबसाइटमा अनलाइन गेमिङअघि रकम भुक्तानी गर्ने तरिकाका बारेमा नेपाली भाषामा नै जानकारी दिएको छ । र, त्यस्तो जानकारीले पनि भुक्तानीमा समस्या भए सम्पर्क गर्न भनेर नेपालीको लागि बेग्लै इमेल ठेगाना उपलब्ध गराएको छ ।

1x-bet11684320091.jpg

कम्पनीले भनेको छ– ‘कृपय यदि डिपोजिट अथवा निकासी रकम समयमा नआएमा खल्ती वा बैंकमा सम्पर्क गर्नुहुन अनुरोध छ र खल्ती वा बैंकबाट पैसा ट्रान्सफर गर्दा कृपया रिमार्कमा हजुरको फोन नम्बर राखिहोस् । यदि कुनै समस्या आएमा धैर्यताका साथ हाम्रो सर्पाेर्टको इमेल  info-npl@1xbet-team.com मा आफ्नो समस्याका साथ इमेल गर्नुहोला ।’

अनलाइन बेटिङमा जितेको रकम खल्ती खातामा आइपुग्न ४८ घण्टा लाग्ने भनिएको छ ।

जित्नेले आइफोन पाउने

अनलाइन बेटिङमा जित्नेले आइफोन १४ का विभिन्न सिजिर जित्न सकिने जानकारी दिइएको छ । वेबसाइटमा दिइएको जानकारी अनुसार बेटिङमा सहभागी हुनेहरुले आइफोन १४ प्रो म्याक्स जित्न सक्ने भनिएको छ । यस्तै, आइफोन प्रो र आइफोन १४ पनि जित्न सकिने अफर ल्याइएको छ ।

प्रहरीमा छैन उजुरी

नेपालीलाई नै लक्षित गरेर अनलाइन गेमिङको विज्ञापन भइरहे पनि यसबाट ठगियौं भन्दै प्रहरीमा जानेहरु भने भेटिएका छैनन् । ठगियौं भन्नेहरु पनि यो गेममा सहभागी हुने भएकोले उनीहरुले उजुरी गर्ने आँट नगरेको हुन सक्ने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सिताराम रिजाल बताउँछन् । यद्यपि, प्रहरीले यससम्बन्धी मुद्दा दर्ता गरिसकेको उनले जानकारी दिए ।

1x-bet31684320122.jpg

‘पीडित भएँ भनेर आउने व्यक्ति पनि अनलाइन गेमिङमा सहभागी भएको नै हुने भएकोले उसले पनि उजुरी गर्ने आँट नगरेको हो कि भन्ने जस्तो पनि देखिन्छ । तर, प्रहरीले आफ्नै प्रतिवेदनबाट यसअघि नै वानएक्स बेटमा संलग्न भएका आधारमा ८ वटाभन्दा बढी मुद्दा चलाइसकेको छ । यो गैरकानुनी कार्यमा संलग्नहरुलाई समाउने नै हो, कारबाही हुन्छ नै,’ प्रवक्ता रिजालले सिएन नेपालसँग भने ।

सघाउँदै साइबर व्यूरो

अनलाइन गेमिङलाई जुवा अन्तरगत राखेर प्रहरीले कारबाही गरिरहेको छ । सोही कारण प्रहरीको साइबर व्यूरोले यसमा प्रत्येक्ष संलग्नता जनाएको छैन । तर, प्राविधिक विषय भएकोले आफूहरुले सहयोग गरिरहको साइबर व्यूरोका प्रवक्ता पशुपतिकुमार राय बताउँछन् ।

‘अनलाइन गेमिङ पनि एक प्रकारको जुवा नै भयो । जुवा हेर्ने जिम्मेवारी जिल्ला प्रहरी परिसरलाई छ । त्यसैले यो विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले हेरिरहेको छ भने हामीले आवश्यक परेको अवस्थामा प्राविधिक सहयोग गरिरहेका छौं,’ प्रवक्ता रायले भने ।

नेपाली एजेन्ट खोज्दै प्रहरी

प्रहरीले अहिलेसम्म केही व्यक्ति पक्राउ परेपनि नेपाली एजेन्ट भने पक्राउ नपरेको ठानेको छ । यसैकारण जिल्ला प्रहरी परिसर काठमाडौँ, साइबर व्यूरो र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को संयुक्त टोलीले गोप्य रुपमा यसको अनुसन्धान गरिहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

सो टोलीले नेपालको मुख्य एजेन्ट खोज्नेदेखि कति रकम बराबरको खेल हुने गरेको छ, नेपालमा कोको सहभागी छन् भन्ने जस्ता विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।

वानएक्स बेट– फुटबल क्लबदेखि पोर्नाेहवसम्म

वानएक्स बेट कम्पनी सन् २००९ मा स्थापना भएको कम्पनी हो । यसको केन्द्रीय कार्यालय साइप्रसको लिमासोलमा छ । संसारका १३४ देशमा सेवा विस्तार गरिसकेको दाबी गर्ने यो कम्पनीले अनलाइन बेटिङ र गेमिङ गराउने गरेको भेटिएको छ । यो कम्पनीको वार्षिक आम्दानी २ अर्ब अमेरिकी डलर रहेको बताइएको छ । यसका विभिन्न ५ वटा सहायक कम्पनी पनि छन् । यसलाई नेदरल्याण्डको कुराकायो राज्यले इगेम्बलिङको लाइसेन्स दिएको थियो । 

फुटबल क्लब बार्सिलोनाले सन् २०१९ मा वानएक्स बेटलाई आफ्नो नउाँ पार्टनर भनेर घोषणा गरेको थियो ।

बेलायती पत्रिका द सन्डे टाइम्सले सन् २०१९ मा वानएक्स बेट सम्बन्धी एउटा अनुसन्धानमुलक समाचार प्रकाशित गर्यो । सो समाचारमा वानएक्स बेटले पोर्नाेहव क्यासिनोलाई प्रबर्धन गरेर बेलायतको गेम्बलिङ कमिसनले गरेको व्यवस्था उल्लघंन गरेको उल्लेख छ । 

टाट पल्टिएको कम्पनी

वानएक्स बेट कम्पनीको एउटा सहायक कम्पनी वानएक्स कर्प एमभी पनि हो । सन् २०२१ को नोभेम्बरमा नेदरल्याण्डको कुराकाओ अदालतले सो सहायक कम्पनीलाई टाट पल्टिएको घोषणा गर्यो । कुराकाओका गेमिङ प्रभावितहरुलाई रकम फिर्ता गर्नुपर्दा सो कम्पनी टाट पल्टिएको बताइएको थियो ।

यस्तै, सन् २०२३ को जनवरीमा भने नेदरल्याण्डको सर्वाेच्च अदालतले वानएक्स बेट कम्पनीलाई टाट पल्टिएको घोषणा गरेको थियो । यद्यपि, सोही कम्पनीको नाममा अहिले नेपालीलाई अनलाइन जुवा खेलाउने धन्दा चलिरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्