नेभिगेशन
अर्थ विविध

यो वर्षको आर्थिक बृद्धिदरः गण्डकीको सबैभन्दा बढी, कम बागमतीको

काठमाडौँ– चालु आर्थिक वर्षमा सबैभन्दा बढी आर्थिक बृद्धिदर गण्डकी प्रदेशको र कम बागमती प्रदेशको हुने अनुमान गरिएको छ ।

मंगलवार राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९÷०८० को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो । गण्डकी प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने अनुमान गरिएको छ ।

बागमती प्रदेशको वृद्धिदर सबैभन्दा कम १.४४ रहने अनुमान गरिएको छ । संशोधित अनुमान अनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी ६.३५ प्रतिशत देखिएको छ भने सबैभन्दा कम मधेस प्रदेशमा ४.६ प्रतिशत रहने छ । 

कार्यालयका निर्देशक ईश्वरप्रसाद भण्डारीका अनुसार चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिव ५३ खर्ब ८१ अर्ब हुने अनुमान गरिएको जानकारी दिए । यसमा सबैभन्दा बढी ३६.८ प्रतिशत योगदान हुने उनको भनाइ छ । भण्डारीका अनुसार बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन करिब १९ खर्ब ८१ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ ।

सबैभन्दा कम ४.१ प्रतिशतको योगदान कर्णाली प्रदेशको उपभोक्ताको मूल्यमा करिव २ खर्ब १ अर्ब रुपैयाँको हाराहारीमा हुने अनुमान रहेको उनले जानकारी दिए । निर्देशक भण्डारीका अनुसार बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पु¥याउने प्रदेशहरुमा क्रमशः कोशी, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश छन् ।

चालु आर्थिक वर्षमा कोशी प्रदेशको आर्थिक वृद्धिदर २.० प्रतिशत, मधेस प्रदेशको १.६९ प्रतिशत, लुम्बिनीको २.०६ प्रतिशत, कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.७८ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयको प्रक्षेपण रहेको छ । गत आर्थिक वर्षको तुलनामा सातै प्रदेशको आर्थिक वृद्धिदरमा कम हुने देखिएको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध