गण्डकीमा ४ नवनियुक्त मन्त्रीले लिए शपथ

शुक्रबार, वैशाख २९, २०८०

पोखरा –गण्डकी प्रदेश सरकारमा  ४ जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनीहरूलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

सपथ लिनेहरूमा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले तथा माओवादीबाट रेशमबहादुर जुग्जाली छन् ।

जिसीले कृषि तथा भूमि व्यवस्था, जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, आलेले आर्थिक मामिला र थापाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि केन्द्रले नेकपा (एकीकृत समाजवादी)का सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पनि मन्त्री बनाउने भनिएको थियो तर उनको नाम अन्तिममा आएर हटाइएको छ ।

मुख्यमन्त्री पाण्डेसँगै कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादीकी सुशीला सिम्खडाले वैशाख १५ गते विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य र अर्याललाई उर्जा, जलस्रोत तथा खानेपानीमन्त्रालयको जिम्मा दिएका छन् ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्