मनाङे फेरि भए मन्त्री !

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौँ– ‘गुण्डानाइके’का रुपमा चर्चित दीपक मनाङे (राजीव गुरुङ) फेरि मन्त्री भएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को आज बिस्तार भएसँगै उनी फेरि मन्त्री बनेका हुन् ।

गुण्डागर्दी पृष्ठभूमिकाका हुनका बाबजुद मनाङे गण्डकी सरकारको चौथो पटक मन्त्री हुन सफल भएका छन् । उनलाई मन्त्री बनाउन केन्द्रीय तहबाटै दबाब आएको बताइएको छ ।

स्वतन्त्रबाट चुनाव जितेका उनी नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मन्त्री बनेका हुन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज ४ जना मन्त्री थपेका हुन् ।

नेपाली कांग्रेसबाट २, नेकपा (माओवादी केन्द्र)बाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ ।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् यस्तै, एकीकृत समाजवादीबाट मनाङे र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीहरूको सपथ कार्यक्रम राखिएको छ ।

वैशाख ९ गते नेकपा (एमाले)का खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्