इमरान खान पक्राउपछि पाकिस्तानमा हिंसा, ६ जनाको मृत्यु

बुधबार, वैशाख २७, २०८०

काठमाडौं–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि  पाकिस्तानमा हिसांत्मक प्रदर्शन सुरु भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरूकाअनुसार खान पक्राउसँगै भएको प्रदर्शनमा हालसम्म ६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा देशैभर इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको छ ।

खान नेतृत्वको पाकिस्तान तारिखे इन्साफ पार्टीका कार्यकर्ताहरू पाकिस्तानमा नाराबाजी, तोडफोड तथा आगजनीमा उत्रिएका छन् । कार्यकर्ताहरूले रावलपिन्डीस्थित सेनाको मुख्यालय, लाहोरस्थित गवर्नर हाउस, आर्मी कमाण्डर तथा अन्य सैनिक पदाधिकारीहरूको घरमा तोडफोड तथा आगजनी गरेका छन् ।

मंगलबार पक्राउ परेका इमरान खानलाई बुधबार अदालतमा पेश गरिनेछ । उनलाई अनुसन्धान एजेन्सी एनएबीको आदेशमा पाकिस्तानी रेन्जर्सले पक्राउ गरे पछि उनलाई सोधपुछका लागि रावलपिंडीस्थित एनएबी मुख्यालयमा सारिएको थियो ।

पूर्वप्रधानमन्त्रीलाई मुद्दाको सुनुवाइका लागि एनएबी अदालत वा न्यायिक परिसरमा नभई इस्लामाबाद प्रहरी मुख्यालयमा लगिने छ । पाकिस्तान सरकारले इमरानको ज्यान खतरामा पर्न सक्ने भन्दै यस्तो निर्णय गरेको बताएको छ । अल कादिर विश्वविद्यालय घोटाला प्रकरणमा पक्राउ परेका खानलाई अझै ४–५ दिन हिरासतमा राखिने छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्