नक्कली भुटानी शरणार्थी प्रकरण

देउवा र ओलीको कोर टिम पनि मुछियो नक्कली शरणार्थी प्रकरणमा [भिडियो]

अनुसन्धान रोकिन्छ कि रोकिदैन ?
आइतबार, वैशाख २४, २०८०

काठमाडौँ– नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कोर टिम पनि मुछिएको छ ।

सुरक्षा स्रोतले दिएको जानकारी अनुसार ठूला पार्टीका अध्यक्षको सहयोगी र परिवारका सदस्य पनि सो प्रकणमा जोडिएका छन् । एमाले अध्यक्ष ओलीका सहयोगी पनि नक्कली शरणार्थी बनाइ ठगी गर्ने गिरोहमा मुछिएपछि उनले प्रधानमन्त्री प्रचण्डलाई पटक पटक भेटेर सो विषयमा सहजीकरण गरिदिन आग्रह गरेका स्रोतको दाबी छ । 

गत विहीबार र शनिवार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको थियो ।

यो प्रकरणको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको थियो । सो समयमा एमालेका वर्तमान उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री थिए । थापाका छोरा प्रतिक पति सो प्रकरणमा मुछिएको भन्दै प्रहरीले खोजी गरिरहेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका प्रतिक हाल फरार रहेको प्रहरकिो भनाइ छ । यस्तै, तत्कालिन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई भने सो प्रकरणमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

थापा गृहमन्त्री भएको बेलामा गृह सचिवको जिम्मेवारीमा प्रेम राई थिए । उनी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त छन् । तत्कालिन प्रधानमन्त्री ओलीको विशेष पहलमा राई पहिला गृहसचिव र पछि अख्तियारको प्रमुख आयुक्त बनेका थिए । राई पनि यो प्रकरणमा संलग्न रहेको सुरक्षा स्रोतको दाबी छ । 

ओली क्याविनेटका उर्जा मन्त्री तथा एमालेका वर्तमान सचिव टोपबहादुर रायामाझी पनि सो प्रकरणमा संलग्न रहेको प्रहरीले पुष्टी गरिसकेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नेता रायामाझी हाल फरार रहेको प्रहरीको भनाइ छ । रायामाझीका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

ओली सरकार ढलेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको थियो । सो सरकारको गृहमन्त्री वालकृष्ण खाँड थिए । र, गृहसचिवको जिम्मेवारीमा टेकनारायण पाण्डे आएका थिए । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले सचिव पाण्डेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

तत्कालिन गृहसचिव पाण्डे पक्राउ परेपनि तत्कालिन गृहमन्त्री वालकृष्ण खाँड भने पक्राउ परेका छैनन् । सो प्रकरणमा खाँडको पनि संलग्नता देखिएको प्रहरी स्रोतको दाबी छ । खाँड काँग्रेस सभापति देउवाका विश्वासपात्र हुन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि समातिएका थिए । उनीहरु समातिएपछि मात्रै यो प्रकरण सतहमा आएको हो । र, राज्यका जिम्मेवार तहमा बसेका व्यक्तिहरु नै संलग्न रहेको पाइएको हो ।

राज्य नै मानव तस्करीमा संलग्न !

नक्कली शरणार्थी प्रकरणमा तत्कालिन गृहमन्त्री र गृहसचिव नै संलग्न भएको तथ्य बाहिरिएसँगै राज्य नै मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ । मोटो रकम लिएर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा गृह मन्त्रालयका उच्च अधिकारी नै संलग्न भएको पाइएपछि विश्व समुदायले नेपालीलाई हेर्ने दृष्टिकोण नै फरक हुने देखिएको हो ।

गृहमन्त्रालयका उच्च अधिकारीहरुको समेत संलग्नतामा नेपालीलाई भुटानी शरणार्थी भएको नक्कली कागज बनाएर अमेरिका पठाएवापत प्रतिव्यक्ति ४५ लाख रुपैयाँसम्म लिइएको तथ्य वाहिरिएको छ । 

तर, यसरी रकम लिएपनि आफूहरुलाई अमेरिका नपठाएको भन्दै १४५ जना पीडितले प्रहरीमा निवेदन दिएपछि यो तथ्य सार्वजनिक भएको हो ।

अनुसन्धान रोकिन्छ कि रोकिदैन ?

नक्कली शरणार्थी प्रकरणमा ठूला दलका प्रभावशाली नेता र अध्यक्ष तथा सभापतिका निकट नेता तथा प्रशासक तानिन थालेपछि यो प्रकरणको अनुसन्धान रोकिने हो कि भन्ने शंका उत्पन्न भएको छ । ठूला पार्टीका प्रभावशाली नेता र नेतृत्वका खास मान्छेहरु समातिन थालेपछि दलहरुको मिलिभगतमा अनुसन्धान प्रभावित पार्न सकिने शंका सर्वसाधारणले गरेका हुन् ।

तर, राज्यको जिम्मेवार पदमा बसेको बेलामा उच्च अधिकारीहरु मानव तस्करीमा संलग्न रहेको अभियोग लागेकोले राज्यले यो विषयलाई हल्का रुपमा लिन सक्ने सम्भावना छैन । विश्व महाशक्ति अमेरिका तथा संयुक्त राष्ट्रय संघ जस्ता निकाय मानव तस्करी विरुद्ध कडा रुपमा प्रस्तुत हुने भएकोले नेपालले चाहेर पनि यो प्रकरणलाई फासफुस गर्न सक्ने सम्भावन कम देखिन्छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार