भारतको मणिपुरमा जातीय हिंसा : मृतकको संख्या ५४ पुग्यो

शनिबार, वैशाख २३, २०८०

काठमाडौं – भारतको पूर्वोत्तर राज्य मणिपुरमा तीन दिनदेखि जारी जातीय हिंसामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

अधिकारीहरूका अनुसार मृत्यु भएकामध्ये १६ जनाको शव चुराचन्दपुर जिल्लाको अस्पतालको शवगृहमा राखिएको छ । १५ जनाको शव इम्फाल पूर्व जिल्लाको जवाहरलाल नेहरु चिकित्सा विज्ञान प्रतिष्ठानमा राखिएको छ । २३ शव इम्फाल पश्चिमको क्षेत्रीय चिकित्सा विज्ञान संस्थान अस्पतालमा छन् ।

चुराचन्दपुर जिल्लामा शुक्रबार राति भएका दुई छुट्टाछुट्टै भिडन्तमा पाँच अतिवादी मारिएको प्रहरीले जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार हिंसा प्रभावित क्षेत्रबाट अहिलेसम्म २० हजार लाई सुरक्षित स्थानमा लगिएको छ । तीमध्ये केहीलाई सेनाको शिविरमा पनि राखिएको छ ।

शनिबार इम्फाल उपत्यकामा जनजीवन पुनः ट्रयाकमा फर्किएको देखिन्छ, पसल र बजार खुलेका छन् र सडकमा सवारीसाधनहरू देखिएका छन् ।

यद्यपि, सबै प्रमुख सडक र स्थानहरूमा द्रुत कार्य बल र केन्द्रीय प्रहरी बलहरूको बाक्लो उपस्थिति छ । चुराचन्दपुर, मोरे, काक्चिङ र काङपोकपी जिल्लाको अवस्था नियन्त्रणमा आएको सेनाले जनाएको छ ।

मणिपुरमा बसोबास गर्ने जातीय समुदायबीच विशेषाधिकार पाउने आरक्षित सूचीमा बहुसंख्यक समुदाय मैतेईलाई राख्ने कि नराख्ने विषयमा विवाद हुँदा त्यसले हिंसाको रूप लिएको हो ।

मणिपुरमा करिब १० प्रतिशत भूभागमा मैतेई समुदायको बाक्लो बसोबास छ । २८ लाख जनसंख्या भएको यस प्रदेशमा मैतेईको जनसंख्या २८ प्रतिशत रहेको छ ।

मणिपुरमा नगा र कुकी समुदायलाई आरक्षणको सूचीमा राखेर विशेषाधिकार दिने गरिएकोमा मैतेईले पनि आरक्षण सूचीमा अटाउनुपर्ने माग उठाइरहेकोछ । यो समुदायले १० वर्षयता सोही मुद्दा उठाउँदै आएको छ भने आरक्षण पाइरहेका नगा र कुकी समुदायले त्यसको विरोध गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्