कोभिड विश्वव्यापी आपत्काल सकिएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौं–विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिड–१९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’को रूपमा नरहेको घोषणा गरेको छ । 

उसको विज्ञप्तिलाई महामारी अन्त्यतर्फको एउटा मुख्य कदम ठानिएको छ । डब्ल्यूएचओले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको हो ।

अधिकारीहरूका अनुसार कोभिडको साप्ताहिक मृत्युदर सन् २०२१ को जनवरीमा एक लाख भन्दा बढीको उच्च विन्दुबाट गत महिना साढे तीन हजारमा झरेको छ ।   

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले देशहरू अब आपत्कालको अवस्थाबाट उल्लेख्य रूपमा खतराको व्यवस्थापन गर्ने अवस्थामा प्रवेश गर्न सक्ने बताएका छन् । 

तर उनले सबैभन्दा उच्च तहको सतर्कता हटाउने निर्णय गर्नुको अर्थ खतरा सकिएको भन्ने नरहेको बताउँदै अवस्था फेरिएमा आपत्कालिन अवस्थालाई पुनः व्युँताउन सकिने बताए ।

‘हिजो आपत्कालिन समितिको १५औँ वैठक भएको थियो र त्यसले मलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल अन्त्यको घोषणा गर्न सिफारिस ग¥यो । त्यसलाई मैले स्विकारेँ’, डा. गेब्रेयससले भने ।

‘त्यसैले मैले निकै आशाका साथ कोभिड–१९ विश्वव्यापी स्वास्थ्य आपत्कालका रूपमा सकिएको घोषणा गर्दछु’, उनले भने ।

कोरोनाभाइरसका कारण झन्डै ७० लाख मानिसहरूको मृत्यु पुष्टि भएको बताउँदै उनले उक्त सङ्ख्या खासमा तीन गुणा बढी हुनसक्ने टिप्पणी गरे ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २१:०८
प्रतिक्रिया दिनुहोस्