दुई भागमा विभाजित एनआरएनए युरोपियन बैठक आजदेखि, गएनन् संस्थापकहरू नै 

बिहीबार, वैशाख २१, २०८०

काठमाडौँ– विदेशमा बस्ने करिब ७०–७५ लाख नेपालीहरूको साझा संगठन भनिने गैरआवासीय नेपाली संघ (एनआरएनए) बिस्तारै गुट–उपगुट हुँदै अस्तित्व जोगाउन मुस्किल अवस्थामा पुगेको छ ।

सन् २००३ को अक्टोबरबाट बिधिवत रुपमा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट उद्घाटन गर्दै नेपालमा गैरआवासीय नेपालीको विधिनित् मान्यता पाएको संगठन आज राजनैतिक दलगत भागबण्डाका कारण २०२१ मा आइपुग्दा दुई भाग विभाजन हुन पुग्यो ।

एउटा डा उपेन्द्र महतो र जिवा लामिछानेको समूहले ललितपुरको हिमालयन होटलमा तीन जना अध्यक्षसहित अधिवेशन गर्यो । अर्को पूर्वअध्यक्ष ड शेष घलेको समूहले काठमाडौँको होटल याक एन्ड एण्ड यतिमा छुट्टै अधिवेशन गर्यो । जसको फलस्वरूप विश्वभर फैलिएको भनिएको एनआरएनए दुई भागमा विभाजित मात्र भएन दलगत गुटमा नभएकाहरू एनआरएनको औचित्य नै नभएको भन्दै हिँडिदिए ।

संस्थापन पक्ष भनिने समूहले अघिल्ला वर्षजस्तै यसपटक पनि युरोपियन क्षेत्रीय भेला गर्दैछ । तीन दिने भेला चेक रिपब्लिकको प्रागको होट इन्टरनेसनल प्रागमा दिउँसो ३ बजे सुरु हुँदैछ ।

तर, भेलामा यसपटक भने कोही पनि ठूला पूर्वअध्यक्ष उपस्थित नहुने भएका छन् । डा महतो र लामिछाने पनि नआउने भएपछि निवर्तमान अध्यक्ष कुमार पन्तलाई डा महतोले आफैँ फोन गरेर गइदिन अनुरोध गरेको बताइएको छ । पन्त आफैँ पनि नजाने भनेर बसेका थिए । यस बैठकमा हिजोका हरेक बेथिति बारेमा चर्को आवाज उठ्ने र त्यसको सामना गर्न नसक्ने सुइँको पाएर डा महतो र लामिछाने डरले नजाने भएको दलगत गुटमा नलागेका एनआरएनएहरू बताउँछन् । एनआएनएका अधिकांश ठूला नेता  जान नमानेको यो पहिलो भेला हो ।

यद्यपि, नेपालबाट नेकपा (एमाले)को तर्फबाट सुवास नेम्वाङ र नेपाली कांग्रेसका तर्फबाट रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट मनीष झा भेलामा जाँदैछन् । नयाँ दलका रुपमा उदाएको रास्वपाको यो पहिलो प्रतिनिधित्व हो । 

महतोले पूर्वअध्यक्ष पन्तलाई बलिको बोको बनाएको एनआरएन राजेन्द्र भट्टको आरोप छ । 

‘अध्यक्ष पन्तकै कार्यकालको अन्त्यमा एनआरएनए विभाजित भएको हो । संस्थापक अध्यक्ष महतो र अर्का पूर्व डा घलेको इगो अहिले एनआरएनए ध्वस्त पार्न प्रमुख भूमिका देखिए पनि मूल जड भनेको केही टाठा–बाठा दलगत स्वार्थका कारण आजको अवस्था आएको हो,’ उनी भन्छन्, ‘अबका दिनमा एनआरएनएको अस्तित्व बचाउन नसक्ने अवस्था आएको छ । । किनकि, नेपालको परराष्ट्र मन्त्रालयमा र सर्वोच्च अदालतमा एनआरएनएलाई लागेका मुद्दाका चाङ छन् ।’
यसैगरी डाक्टर घले समूहको भेला मे १५ देखि १७ सम्म बेलायतमा हुँदैछ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्